आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले अन्तिम खेल यूएईसँग खेल्दै

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज घरेलु टोली नेपालले अन्तिम खेल यूएईसँग खेल्दैछ ।

किर्तिपुरस्थित त्रिविको खेल मैदानमा बिहान ९ः ३० देखी सुरु हुने खेल नेपालका लागि जीत अनिवार्य छ । यसअघि नेपालले युएईलाई दुई पटक पराजित गरिसकेको छ ।

यसअघि नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रन बनाउँदा अलआउट भएको थियो । नेपाल पुनः युएईलाई पराजित गर्ने मनस्थितिका साथ आज मैदानमा उत्रदैछ ।

गएको खेलमा घरेलु मैदानमा हाबी बनेको नेपालले युएईलाई कम स्कोरमा रोक्न ललित राजवंशी एक्लैले पाँच विकेट झारेका थिए भने सन्दीप लामिछानेले २ विकेट लिन सफल भएका थिए ।

सोमपाल कामी, दिपेन्द्रसिंह ऐरि र गुलसन झाले एक एक विकेट लिएर युएईलाई अलआउट गरेको थियो । घरेलु मैदानमा एक दिवसीय त्रिकोणात्मक सिरिजमा युएईमाथि सानदार जित निकाले पछि नेपालले आगामी ४ वर्षका लागि एक दिवसीय मान्यता जोगाई सकेको छ ।

लिग २ मा दोस्रो पटक युएईलाई हराएर शीर्ष ५ मा रहँदै ओडिआई मान्यता जोगाएको तीन दिनपछि नेपाल आज पुनः युएईसँग भिडन लागेको हो । नेपालले आज युएईलाई पराजित गर्न सके जुन–जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै खेल्न पाउनेछ ।

यदि पराजित भएमा यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । वर्षा वा कुनै कारण खेलको नतिजा नआए र अंक बाँड्नु परेमा नेपालले सोझै विश्वकप छनोट खेल्ने अवसर गुमाउनेछ । नेपाल ३५ खेलमा १८ मा जित र १५ मा हारसहित ३८ अंकका साथ चौथो स्थानमा छ ।