मिटरब्याजी र लघुवित्त वित्तीय संस्थाको ऋणी मारमा परेको भन्दै राजधानीमा प्रर्दशन र माइतीघरमा धर्ना र कोणसभा

३० फागनु, काठमाडौं । मिटरब्याजी र लघुवित्त वित्तीय संस्थाको ऋणको मारमा परेकाहरु सरकारले समस्या समाधानका लागि चासो नदिएको भन्दै आक्रोश पोख्न मंगलबार राजधानीको माइतीघरमा जम्मा भए ।

जहाँ दूध खाँदै गरेका काखे बालक च्यापेर रातभर बसयात्रा गरेर अनिँदै आइपुग्नेहरु पनि थिए । घरबाटै खाना र खाजा बोकेर आन्दोलनमा आएका उनीहरू बिहान १० बजेदेखि राजधानीको टेकुदेखि र्‍यालीमा सहभागी भए र दिउँसो करिब १ बजे माइतीघर मण्डला आइपुगेका थिए ।

मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समिति र लघुवित्त वित्तीय संस्था विरुद्धको संघर्ष समितिको आयोजनामा गरिएको कार्यक्रममा सहभागीहरु देशका विभिन्न जिल्लाका पीडित सर्वसाधारण नै थिए । उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि र नागरिक समाजका अगुवाहरू समेत ऐक्यबद्धता जनाउन माइतीघर आएका थिए । तर जब र्‍याली माइतीघर पुगेर सभामा परिवर्तन हुनै लागेको थियो आयोजकका बीचमा विवाद देखियो ।