पाँचै जना एआइजीमा बढुवा : को बन्ला प्रहरीकोमहानिरीक्षक ?

हालै मात्र पाँच डिआइजी बढुवा सिफारिस भएका छन् । जसमा बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआइजी बढुवामा सिफारिस भएका हुन् । बढुवामा सबै अब्बल परेकाले विगतमा जस्तो कुनै विवाद भएन । प्रहरीमा सेवाहदसम्बन्धि प्रावधान हेरफेर नभएमा उनीहरुमध्ये एक जना १० चैतमा प्रहरी महानिरीक्षक हुनेछन् ।

पहिलो नम्बरमा बढुवा भएकाले कुँवर आइजिपीका बलिया दाबेदार देखिएका छन् । यसअघि डिआइजी बढुवामा १३ नम्बरबाट १ नम्बरमा फड्को मार्नु नै उनको करिअरको कोशेढुंगा बन्यो । एआइजी बढुवामा पनि १ नम्बरमै रहन सफल भए । यसका लागि प्रहरी महानिरीक्षक सिंहको भूमिका महत्वपूर्ण छ । सिंहले कुँवरलाई नै भावी आइजिपीका रुपमा अघि बढाउन चाहेका छन् । कांग्रेस निकट भनेर चिनिए पनि कुँवर व्यवसायिक प्रहरी अधिकृत मानिन्छन् । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग निकटता नभएकाले उनी आइजिपीको कुर्सीमा पुग्नेमा ढुक्क छैनन् ।

दोस्रो नम्बरमा राई पनि इमान्दार छवी भएका अधिकृत हुन् । लामो समय बिशेष ब्यूरोमा बसेर उनले सशस्त्र हिंसा तथा संगठित अपराधको नियन्त्रणमा देशका लागि महत्वपूर्ण भूमिका निभाए । तर, राजनीतिक नेतृत्वको चाकडी नगर्ने स्वभावका कारण उनलाई नेताहरुले
रुचाउँदैनन् ।

तेस्रो नम्बरका दिपक थापा अर्का बलिया दाबेदार हुन् । तर, एआइजी बढुवामा तेस्रो नम्बरमा परेकाले उनलाई प्रधानमन्त्रीले अघि बढाउन नखोजेको चर्चा प्रहरीमा छ । यद्यपि, उनको प्रचण्ड परिवारसँग निकटतम सम्बन्ध छ । अहिले आइजिपी नभएपनि पछि छोटो समयका लागि आइजिपी हुने सम्भावना बाँकी नै भएकाले पनि उनलाई विकल्प भने छ ।

चौथो नम्बरका श्यामलाल ज्ञवाली पनि अब्बल प्रहरी अधिकृत मानिन्छन् । तर, उनको माओवादी तथा कांग्रेस नेतृत्वसँग निकटतम सम्बन्ध छैन भनिन्छ ।

साथै, यसपटक आइजिपी नियुक्तिमा इतिहास कायम गर्ने अवसर पनि प्रधानमन्त्री प्रचण्डलाई छ । पहिलो पटक महिलालाई आइजिपी बनाउने अवसर सरकारलाई छ । पाँचौ नम्बरमा बढुवा सिफारिस भएकी किरण बज्राचार्य आइजिपी पदकी एक प्रमुख हकदार हुन् । यसअघि उत्कृष्ट पुरस्कारहरु पाएकी उनी क्षमतावान महिला अधिकृतका रुपमा चिनिन्छन् । उनी पनि प्रहरीमा इतिहास रच्ने दाउमा छिन् ।

यो ब्याचका पाँचै जना तुलनात्मक रुपमा अब्बल अधिकृतका रुपमा पहिचान बनाएका छन् । त्यसकारण पाँचमध्ये जसलाई आइजिपी बनाए पनि विवाद हुने देखिन्न ।