काठमाडौं । विभिन्न विवादमा परेपनि ३३ दिन गृह मन्त्रालय सम्हाल्दा रवि लामिछानेले मन्त्रालयमा व्यापक सुधारको सुरुवात गरेका थिए । मन्त्री भएको भोलिपल्टैदेखि उनले सुधारका काम थालेका थिए । तर, उनी हटेसँगै मन्त्रालयमा विकृति बढ्न थालेको छ ।
लामिछानेले तेस्रो दिन नै सुरक्षाकर्मीको दुरुपयोग रोक्ने अभियान थालेका थिए । त्यसअन्र्तगत मन्त्रालयमा कार्यरत सुरक्षाकर्मीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीमा फर्काइएको थियो । गृहमा चालक हुँदा हुँदै पनि गृहका उच्च अधिकारीले सुरक्षाकर्मीलाई आफ्नो चालक राखेका
थिए । अझ कतिपयले त चालकको पैसा आफैं बुझेर समेत सुरक्षाकर्मीलाई गाडी चलाउन लगाउँदै आएका थिए ।
लामिछाने हटेसँगै फेरि गृहमा पुरानै विकृतिले निरन्तरता पाउन थालेका छन् । सुरक्षाकर्मीको दुरुपयोग पनि फेरि सुरु भएको छ । गृहका कर्मचारीले चिया पकाउनेदेखि गाडी चलाउनसम्म सुरक्षाकर्मी राखेका छन् ।
सहसचिव तहका कर्मचारीले मात्र गाडी सुविधा पाउने व्यवस्था छ । तर, गृहका सबै जसो उपसचिवले गाडीको सुविधा लिदै आएका छन् । गाडी र इन्धन पाएपनि चालक पर्याप्त नहुने भएपछि उनीहरुले नेपाल प्रहरी र सशस्त्र प्रहरी चालक झिकाएर आफ्नो गाडी चलाउन लगाउने गरेका हुन् । मन्त्रालयले नियमित फाइल नै रोकिदिने भएपनि सुरक्षा निकायको नेतृत्वले पनि यस्ता दबाब झेल्ने आँट गर्दैनन् ।
त्यस्तै, गृहमा सुराकी खर्च दुरुपयोग पनि बढेको छ । गृहमन्त्री र गृहसचिवले दैनिक सुराकी खर्च गर्न पाउने अधिकार छ । त्यसको दुरुपयोग गरी गृहसचिव विनोदप्रकाश सिंह लगायत कर्मचारीले त्यस्तो रकम आफैं बुझ्ने गरेको स्रोत बताउँछ ।
मन्त्री नभएकाले गृहसचिव सिंहले मन्त्रीकै शैलीमा मन्त्रालय चलाउने प्रयास गरेका छन् । उनले सुधारका काम भन्दा अधिकारको दुरुपयोगतर्फ केन्द्रीत भएको स्रोत बताउँछ । उनकै असक्षमताका कारण एक महिनाभन्दा लामो समयदेखि मन्त्रालयमा डेढ दर्जन सहसचिव र उपसचिव जिम्मेवारीविहिन छन् ।