नेकपा एमालेसँग पाँच वर्षसम्म सत्ता सहकार्यको सम्भव छैन

महामन्त्री गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेसँग पाँच वर्षसम्म सत्ता सहकार्यको सम्भव नभएको बताएका छन् ।

आज राष्ट्रपति निर्वाचनमा मतदान गरेपछि पत्रकारहरुसँग महामन्त्री एवं कांग्रेस सांसद थापाले अब आउने २०८४ को चुनावसम्म एमाले प्रतिपक्षमै बस्ने र त्यसपछि मात्र आफूहरूले एमालेसँग सहकार्यको प्रस्ताव राख्ने बताएका हुन् ।

तर, एमालेका अध्यक्ष केपी ओलीले भने एमालेले कांग्रेससँग सहकार्य गर्न सक्ने बताएका छन् । उनले बिहीबार नै राष्ट्रपति पदका लागि मतदान गरेपछि अध्यक्ष ओलीले कांग्रेससँग एमालेको सहकार्य हुन सक्ने बताएका थिए । उनले पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै भने, ‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि असम्भव छैन भन्छन् नि, त्यही हो । कांग्रेस र एमाले सहकार्य हुनै सक्दैन भनेर कसम खाएको छैनौ ।’

तर, ओलीले यस्तो बताएको केही समयपछि नै गगन थापाले एमालेले पुस १० मा कांग्रेसलाई धोका दिएकाले फेरि एमालेसँग यो संसदको कार्यकालमा सहकार्य हुन नसक्ने बताएका हुन् ।