सहकारीमा अनियमितता गरेको आरोपमा प्रबन्धकसहित चारजना पुर्वपक्षका लागि कारागार चलान

१७ फागुन, जनकपुरधाम । सर्लाहीको एक सहकारीमा अनियमितता गरेको आरोपमा प्रबन्धकसहित चारजना पुर्वपक्षका लागि कारागार चलान भएका छन् ।

सर्लाहीको मलंगवा नगरपालिका ८ मा रहेको सुविधा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्धकसहित चारजना पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

सर्लाही जिल्ला अदालतको आदेशमा संस्थाका प्रबन्धक मलंगवा नगरपालिका ९ का दीपक लाल अमात्य, संस्थाका खजान्ची वडा नं। १० का निर्मलकुमार श्रेष्ठ, फिल्ड सहायक सर्लाहीकै बलरा नगरपालिका २ का कामेश्वर प्रसाद सिंह, संस्थाका ऋणी मलंगवा २ का उमेश प्रसाद अधिकारीलाई पुर्पक्षका लागि जेल चलान भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी कैलाश राईले जानकारी दिए ।

उनका अनुसार रकम हिनामिना भएको सम्बन्धमा संस्थाका उपाध्यक्ष जयप्रकाश अग्रवाल र लेखा समितिका संयोजक शान्ताप्रसाद श्रेष्ठसमेतले उनीहरुलाई विपक्षी बनाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दिएका थिए ।

अनुसन्धान पश्चात प्रहरीले जिल्ला अदालतमा पेस गरेको थियो । अन्य फरार प्रतिवादीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।