ठिक एक वर्षपछि अभिनेता पल शाह थुनामुक्त भए

१५ फागुन, दमौली । एक नाबालीकालाई यौन दुरुपयोगको मुद्दामा थुनामा रहेका अभिनेता पूर्णविक्रम शाह (पल शाह) उच्च अदालत पोखराबाट सफाइ पाएर  थुनामुक्त भएका छन् ।

उनी आजै कै दिन अर्थात फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए भने आजै फागुन १५ मै रिहा भएका हुन् ।

शाहलाई लिन उनका कानुन व्यवसायी कमलामोहन वाग्ले, परिवारका सदस्य र केही साथी कारागार भित्नै गएका थिए । उनीहरुले खादा र माला लगाएर पलको स्वागत गरेका छन् ।

नाबालिग बलात्कारको उजुरी परे पनि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । तर उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ दिएपछि पल शाहले सफाइ पाएका हुन् ।

सफाइ पाएर जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतबाट शाह रिहा हुने थाहा पाएपछि बिहानैदेखि उनका समर्थक दमौलीमा पुगेका थिए । उनीहरुले पल शाहको पक्षमा नाराबाजीसमेत गरे । कागजी प्रक्रिया पूरा गरेर पल रिहा भएका हुन् । पललाई रिहा गर्न बहिनी रोशनीले कागजमा हस्ताक्षर गरेकी थिइन् ।

उनलाई स्वागत गर्न संगीतकार योगेशकाजीसहित केही फिल्मकर्मी कारागार पुगेका थिए । उनी रिहा भएको हेर्न तनहुँ कारागारबाहिर सर्वसाधारणको भीड लागेको छ । कपाल छोटो बनाएको र कालो ज्याकेटमा बाहिर निस्कँदा फ्यानले पलको पक्षमा नाराबाजी समेत गरेका थिए ।

पल आज पोखरा पुगेर जहाज हुँदै काठमाडौं आउनेछन् । उनलाई त्रिभुवन विमानस्थलमा उनी निकट फिल्मकर्मीले स्वागत गर्ने तयारी गरिरहेका छन् ।