अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) को २३ औं राष्टिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । संगठनको १ यस ९९ जनाको केन्द्रीय कमिटीमा कर्णालीबाट १५ जना चयन भएका छन् । यसमध्ये अधिकांश नयाँ अनुहार आएका छन । अखिलको नयाँ नेतृत्वमा समिक वडाल अध्यक्ष र सनेश रोकाया महासचिव रहेको केन्द्रीय कमिटीका सम्पूर्ण सदस्यहरुले गएको शुक्रबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा पद तथा गोपनीयताको सपथ समेत खाइसकेका छन । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई एक कार्यक्रमका बीच पद तथा गोपनीयताको सपथ खुखाएका हुन ।
अनेरास्ववियुको केन्द्रीय कमिटीमा कर्णाली प्रदेशबाट यस पटक थोरै जनाको प्रतिनिधित्व भएको छ । एक उपाध्यक्ष, चारजना स्थायी कमिटी सदस्य र ९ जना केन्द्रीय सदस्यले मात्रै केन्द्रीय कमिटीमा प्रतिनिधित्व गरेका छन । उपाध्यक्षमा नारायण घर्ती, स्थायी कमिटी सदस्यहरुमा हिग्मतजंग खड्का, निकुंज पाण्डे, रेखा थापा स्नेई, अमर शाही र केन्द्रीय सदस्यहरुमा जलशा कुमारी वुढा, आशिस रेग्मी, दिनेश गौतम, सुमित जैसी, जयराज संज्याल, पदम सुवर्णकार, गीता राना, प्रतिमा क्षेत्री र एलिसा डिसी रहेका छन । यी मध्ये जलशा कुमारी वुढा निर्बिरोध निर्वाचित भएकी हुन भने अरु सबै निर्वाचित आएका हुन ।
वुढा १ सय ९९ मा निर्बिरोध निर्वाचित हुने एक मात्र उम्मेदवार हुन ।
यस पटक कर्णालीबाट केन्द्रीय कमिटीमा पाँच जना महिलाले आफ्नो स्थान सुरक्षित बनाएका छन् । साविक कर्णालीको कुरा गर्ने हो भने केन्द्रीय कमिटीमा हुम्लाबाट ३ जना, जुम्लाबाट ३ जना, कालीकोटबाट १ जना र डोल्पाबाट १ जाले मात्रै प्रतिनिधित्व गरेका छन । यस पटक मुगुले भने केन्द्रीय कमिटीमा उपस्थिति जनाउन सकेन । साविक कर्णालीबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने एक्लो महिला जलशा वुढा मात्रै रहेकी छिन । कालीकोट जिल्लाबाट केन्द्रीय कमिटीमा जलशाले मात्रै प्रतिनिधित्व गरेकोले संभवत निकट भविष्यमा बस्ने अनेरास्ववियुको केन्द्रीय कमिटीको बैठकले उनलाई जिल्ला इन्चार्जको जिम्मेवारी समेत दिने आकलन गर्न थालिएको छ ।