बालाजुमा यातायात मजदुर आन्दोलनमा आगजनी, तोडफोड गर्ने थप १५ जना पक्राउ

बालाजुमा यातायात मजदुर आन्दोलनमा आगजनी, तोडफोड गर्ने थप १५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले १५ जनालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी सोमेन्‍द्र सिंह राठौरले जानकारी दिए।

ल्होत्से मलमा लुटपाट गर्ने तीन जना र आगजनी, तोडफोड गर्ने १२ जनालाई पक्राउ गरेको उनले बताए।

गत सोमबार यातायात मजदुरले आफ्ना मागहरू पूरा गर्नुपर्ने भन्दै आन्दोलन गरेको थियो।

आन्दोलन उग्र बनेपछि प्रदर्शनकारीले प्रहरी वृत्त बालाजुको दुइटा गाडी र अस्थायी प्रहरी बिट जलाएका थिए। ट्राफिक आयरल्यान्ड पनि भत्काएका थिए।

यता त्यही बेला एक समूहले ल्होत्से मलमा लुटपाट गरेका थिए।

काभ्रे घर भई काठमाडौंको जरंखु बस्ने सहचालक १९ वर्षीय सुरज मगर, उदयपुर घर भई तार्केश्वर बस्ने रितेश बस्नेत र मोरङ घर भई तार्केश्वर बस्ने यमन राई पक्राउ परेका हुन्। बस्नेत र राई ज्याला मजदुरी गर्थे।

उनीहरूमाथि चोरी तथा डाँका मुद्दामा अनुसन्धान गरिरहेको छ।

आगजनी तथा तोडफोड गर्नेमा विद्यार्थी, ड्राइभर, सहचालकलगायत छन्।

यस्तै, विद्यार्थी सुनिल कालिकोटे, व्यापारी रोमन नगरकोटी, विद्यार्थी सुदिप तामाङ, व्यापारी माधव शाही, सहचालकहरू केशर राई, इन्द्र तामाङ, राजन राउत, विकास गुरूङ पक्राउ परेका छन्।

यस्तै, चालक इलाराज गुरूङ, हरिशरण तामाङ, संविधान परियार र एक वेटर कविन खड्की पक्राउ परेका छन्।

प्रहरीले सामाजिक सञ्जालमा आएका भिडिओ तथा तस्बिरबाट पहिचान गरी पक्राउ गरेको हो।

उनीहरूमाथि उपद्रव गर्न नहुने कसूरमा अनुसन्धान गर्न बालाजु र महाराजगन्जमा पठाएको छ।

यसअघि बुधबार मात्रै प्रहरीले १० जनालाई पक्राउ गरेको थियो।