नेपालगंजमा थप एकजना कोरोना संक्रमित थपिए

२६ वैशाख, काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमित देखिने क्रमसँगै फेरि आज नेपालगञ्जमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । भेरी अञ्चल अस्पतालमा गरिएको प्रयोगशाला परीक्षणमा एक जनामा भाइरसको संक्रमण पुष्टि भएको हो ।
१६ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या १०२ पुगेको छ । यसमध्ये ७४ जना पुरुष र २८ जना महिला रहेका छन् ।
हालसम्म प्रदेश १ मा ३१ जना, प्रदेश दुईमा ३०, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा २७ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । कर्णाली प्रदेशमा हालसम्म कोरोनाभाइरस संक्रमित फेला परेका छैनन् ।
यता, कोशी अस्पतालबाट आज ८ जना डिस्चार्ज भएका छन् । जसमध्ये ५ जना १७ औँ दिनमा र ३ जना १६ औँ दिनमा डिस्चार्ज भएका हुन् । योसँगै निको हुनेको संख्या ३० जना पुगेको छ ।
हालसम्म पीसीआर प्रविधिबाट १५ हजार ४९२ तथा आरडीटी प्रविधिबाट ५४ हजार ५३१ जनाको परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ८५९ वटा परीक्षण भएका छन् । हालसम्म १५ हजार ६२४ जना क्वारेन्टाइनमा रहेका छन् भने आइसोलेसनमा १३५ जना रहेका छन् ।