काठमाडौँ । निर्वाचन आयोगले २०८० वैशाख १० मा चितवन क्षेत्र नम्बर–२ मा उपनिर्वाचन गर्ने निर्णय गरेको छ । सो निर्वाचन क्षेत्रबाट चुनाव जितेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुनस् चितवन–२ मा उम्मेदवार हुने तयारी गरेका छन् ।
२०७९ मङ्सिर ४ मा भएको चुनावमा लामिछानेको उम्मेदवारीलाई सर्वोच्च अदालतले ‘योग्यता नपुगेको’ ठहर गरेको थियो । माघ १३ मा सर्वोच्च अदालतले लामिछानेको मुद्दामा फैसला गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन–२०७४ को दफा ९१२० को प्रयोजनका लागी उम्मेदवार बन्न ‘योग्यता पुगेको भनी मान्न मिलेन’ भनेको थियो । संवैधानिक इजलासले गरेको फैसलासँगै रिक्त प्रतिनिधिसभा सदस्य पदमा चितवन–२ मा उप–निर्वाचन हुन लागेको हो ।
‘सरकारले उहाँको नागरिकता पुनः कायम गरिदिएको छ, अहिलेको अवस्थामा उहाँ उम्मेदवार बन्न पाउनुहुन्छ ।’
अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत् रूपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पुरा नगरेका कारण सांसद पद गुमाएका रवि लामिछानेले लिएको नेपाली पासपोर्ट पनि ‘विवादित’ छ । पासपोर्टको विवाद नटुङ्गिँदै लामिछाने फेरि उम्मेदवार हुन पाउँछन् कि पाउँदैनन् भन्ने प्रश्न उठेको छ । लामिछानेले सर्वोच्चको फैसला अनुसार जिल्ला प्रशासन कार्यालयबाट पुनः नागरिकता लिएका छन् । नागरिकता कायम भएसँगै लामिछानेले चितवन–२ बाट चुनाव लड्ने तयारी गरेका हुन् ।