नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याललाई उठाउने तयारी

१६ माघ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याललाई उठाउने तयारी गरेको छ ।

नेताहरुका अनुसार माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्याललाई मन्त्री बन्न प्रस्ताव गरेका थिए । तर, उनले अस्वीकार
गरिदिइन् । त्यसपछि प्रचण्डले नै अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्षको जिम्मेवार लिन आग्रह गरेका छन् ।

सत्ता साझेदार दल नेकपा एमाले र नेकपा माओवादीबीच राष्ट्रिय सभाको उपाध्यक्ष माओवादीले लिने सहमति छ । सहमतिअनुसार माओवादीले अर्याललाई अगाडि सारेको हो ।

तर, जनता समाजवादी पार्टी (जसपा) राष्ट्रिय सभाको उपाध्यक्ष लिएर सरकारमा सहभागी हुन तयार भए छोडिने पनि माओवादी नेताहरु बताउँछन् । अन्यथा सत्ता साझेदार दलहरुको तर्फबाट अर्याल नै राष्ट्रिय सभाको उम्मेदवार बन्ने नेताहरु बताउँछन् ।

राष्ट्रिय सभाको उपाध्यक्षका लागि माघ २२ गते मनोनयन दर्ताको समय छ । निर्वाचन माघ २३ गते हुनेछ । ५९ सदस्यीय राष्ट्रियसभामा एमाले र माओवादी सम्मिलित सत्ता साझेदार दलहरुको बहुमत छ । प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवारको टुंगो लगाएका छैनन् । तर, सत्ता सझेदार दलहरुले अर्यालको नाम लगभग टुंगो लगाएका छन् ।

अर्याल नेकपा एमालेबाट राजनीतिमा आएकी नेता हुन् । झलनाथ खनाल नेतृत्वको एमाले(एमाओवादी सरकारमा उनी स्थानीय विकास मन्त्री समेत भएकी थिइन् ।

नेकपा मसाल पृष्ठभूमिकी उनी २०४७ सालसम्म महिला विकास अधिकृत थिइन् । महिला विकास अधिकृतबाट राजीनामा दिएर ०४८ सालमा एमाले प्रवेश गरेकी थिइन् । एमालेमा प्रवेशपछि उनी सांसद्, मन्त्री र पार्टीको पनि महत्वपूर्ण जिम्मेवारीमा थिइन् ।

माओवादीमा प्रवेश गरेपछि ओझेलमा पर्दै आएकी अर्याललाई प्रधानमन्त्री प्रचण्डले मन्त्री नै बनाउन चाहेका थिए ।