भुकम्प आउँछ भन्ने हल्ला भएपछि जुम्ला र मुगुमा बासिन्दा रातभर सडकमा जागराम

१६, माघ, काठमाडौं । भुकम्प आउँछ भन्ने हल्ला भएपछि जुम्ला र मुगुमा बासिन्दा रातभर सडकमा जागराम गरेका छन् ।

जुम्ला सदरमुकाममा केही मानिसहरु घर बाहिर निस्केर आगो बालेर बसिरहेका छन् । मानिसहरुले दुःख पाएपछि स्थानीय प्रशासनको आदेशमा प्रहरीले भ्रामक सूचना फैलाउने व्यक्तिको खाजी सुरु गरेको छ ।

जुम्लाको माइनस डिग्री कठ्याग्रिंदो चिसोमा मानिसिहरु भूकम्प आउँदैछ भन्ने हल्लाले बाहिर बस्न बाध्य भए । भूकम्प आउने कुरा भ्रामक हो भनेर कतिपयले सामाजिक संजालमा सकारात्मक सन्देश पनि दिइरहेका छन् ।

भूकम्प आउँदैछ भन्नेबारे स्थानीय प्रशासनलाई समेत टेलिफोन आइरहका छन् । जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले आफूलाई रातभर फोन आएर हैरान बनाएको बताए ।

उनले यस्तो हल्ला फैलाउने व्यक्तिलाई कारबाही गरिने बताए । ‘यता प्रशासनमा पनि फोनहरु आइरहेका छन् । यो भ्रामक हल्ला हो । मानिसहरुलाई यसरी दुःख दिनेको खोजी कार्य सुरु भएको छ ।’

कणरली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय विपत् व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायाका अनुसार भूकम्प आउने पूर्वअनुमान गर्नसकिंदैन, सहजै अनुमान गर्न सकिंदैन ।

उनले यो हल्लाको पछि नलाग्न र सचेत भने सधैं हुनेपर्ने बताए ।

अनलाइनखबरबाट