सरकारले ८७ प्रकारका विषयलाई गोप्य रहने गरी सूचनाको वर्गीकरण गरेपछि नेपाल पत्रकार महासंघले विरोध

सरकारले आज ८७ प्रकारका विषयलाई गोप्य रहने गरी सूचनाको वर्गीकरण गरेपछि नेपाल पत्रकार महासंघले विरोध गरेको छ।

महासंघका महासचिव रोसन पुरीले आज विज्ञप्ति निकालेर सूचनाको हकसम्बन्धी ऐन २०६४ लाई निस्कृय पार्ने गरी सरकारले ८७ प्रकारका विषयलाई गोप्य रहने गरी गरेको सूचनाको वर्गीकरणप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

‘सरकारले सूचनाको हकसम्बन्धी ऐन, २०६४ लाई प्राय निष्कृय पार्ने गरी ८७ प्रकारका विषयलाई गोप्य रहने गरी सूचनाको वर्गीकरण गरेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘नयाँ सरकार बन्ने संक्रमणकालीन समयमा विषय विज्ञ र सरोकारवाला निकायलाई थाहै नदिइ नेपाल सरकारको मुख्य सचिवको अध्यक्षतामा रहने सूचना वर्गीकरण समितिले गरेको यो निर्णयले संविधानप्रदत्त सूचनाको हकसम्बन्धी मौलिक हक र सूचनाको हकसम्बन्धी ऐन, २०६४ लाई निरर्थक र निष्कृय बनाउने स्पष्ट छ।’