सूचना वर्गीकरण समितिले गरेको सूचनाको वर्गीकरणमाथि प्रधानमन्त्री प्रचण्डले छलफल गर्ने

१५ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूचना वर्गीकरण समितिले गरेको सूचनाको वर्गीकरणमाथि छलफल गर्ने भएका छन् । मुख्य सचिव शंकरदाश बैरागीको नेतृत्वमा रहेको समितिले सूचना वर्गीकरण गर्दा कतिपय नीतिगत विषयलाई पनि गोप्य सूचनामा वर्गीकरण गरेको भन्दै विरोध सुरु भएको थियो ।

त्यसपछि प्रधानमन्त्री प्रचण्डले उक्त वर्गीकरणप्रति चासो व्यक्त गर्दै छलफल गर्न लागेका हुन् । सूचना वर्गीकरणका विषयमा व्यक्त भएका चासोका बारेमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको प्रधानमन्त्री प्रचण्डले बताएका छन् । ‘भोलि सोमबार सरोकारवाला पक्षहरूसँग छलफल गरी समस्या समाधानबारे आवश्यक निर्णय लिइनेछ’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।