राष्ट्रपति चयनका सवालमा सकभर राष्ट्रिय सहमति हुनुपर्ने माओवादी केन्द्रको धारणा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्यहरुले राष्ट्रपति चयनका सवालमा सकभर राष्ट्रिय सहमति हुनुपर्ने धारणा राखेका छन् । आज बोल्ने अधिकांश सदस्यहरुले राष्ट्रपतिका सवालमा राष्ट्रिय सहमतिमा जोड दिएको उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले बैठकपछि जानकारी दिए ।

‘राष्ट्रपतिका विषयमा राष्ट्रिय सहमति कायम गर्ने मुलभूत रुपमा धेरै कमरेडहरुको आवाज आएको छ’, महराको भनाइ छ । तर उनले यसबारे निर्णय भने भैनसकेको बताए । उनले राष्ट्रिय सहमति हुने नहुने बेग्लै कुरा भएपनि आफ्नो पार्टीको मत राष्ट्रिय सहमतिमै रहेको बताए । त्यसक्रममा अरु पार्टीसँग गर्ने पहल पनि बाँकी नै रहेको बताए ।

उनले राष्ट्रपतिको चुनाव फागुन २६ देखि २८ भित्र हुने बताए । बैठकमा पार्टी एकताबारे नेसपा, विप्लव नेतृत्वको नेकपासँग वार्ता चलिरहे पनि निष्कर्षमा पुग्न नसकिएको बताए ।