आफैंमाथि आगो लगाएका प्रेमप्रसाद आचार्य घटनामा प्रहरीमा जाहेरी

आफैंमाथि आगो लगाएका प्रेमप्रसाद आचार्य घटनामा प्रहरीमा जाहेरी परेको छ।

बिहीबार जिल्ला प्रहरी परिसर टेकुमा पुगेर केही व्यक्तिहरूले जाहेरी दिएको प्रहरीले जनाएको छ। उनीहरूले आत्महत्या दुरूत्साहन मुद्दामा जाहेरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

कति जनाविरूद्ध जाहेरी दिएको भन्ने उनले खुलाएनन्।

स्वागत नेपाल लगायतको टोलीले टेकु पुगेर जाहेरी दिएका हुन‍्। आचार्यले सामाजिक सञ्जालमा उल्लेख गरेका सबै जनाविरूद्ध जाहेरी दिएको नेपालले बताएका छन‍्।

मंगलबार दिउँसो बानेश्वरस्थित संसद भवन अगाडि इलाम घर भएका आचार्यले आफैंमाथि आगो लगाएका थिए।

आगो निभाएर उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको थियो। उनको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको थियो।

उनको मृत्युपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अस्पतालमै पुगेर मृतक परिवारसँग भेटेका थिए। आफूमाथि आगो लगाउनुअघि आचार्यले सामाजिक सञ्जालमा आफ्ना असन्तुष्टि, समस्या र मागलगायत विभिन्न विषय उठाएका थिए।

उनले उठाएका विषयमा छानबिन गर्ने गृहमन्त्री लामिछानेले प्रतिबद्धता जनाएका थिए। त्यसअनुसार बुधबार बसेको मन्त्रिपरिषदले छानबिन गर्ने निर्णय समेत गरेको थियो।

बिहीबार गृहमन्त्रालयले सहसचिवको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति पनि गठन गरेको छ।

गृह मन्त्रायका सह-सचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा समिति गठन भएको हो।

अर्थमन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक सदस्य रहनेछन्।