राजनीतिक लाइन धेरै ठाउँमा मिलेपनि विचारधारामा अड्कियो एकीकृत समाजवादी र जसपाको एकता

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपाल (जसपा) बीच एकीकरणको विषयमा दुवै पार्टीले एकअर्काको दस्तावेज अध्ययन गरिरहेका छन् । गत शुक्रवार दुई दलबीच भएको वार्तामा एक अर्काले पार्टीको दस्तावेज साटासाट गरेर अध्ययन सुरु गरेको थियो । दुवै पार्टीको राजनीतिक लाइन धेरै ठाउँमा मिलेपनि विचारधारामा गएर अड्किएको एक नेताले बताए ।

जसपाको राजनीतिक दस्तावेज वामपन्थी विचारसँग मिल्दोजुल्दो छ ।  तर एकीकृत समाजवादीको विचार हार्डलाइनर कम्युनिष्ट विचारधारा जस्तो रहेको छ । दुईटै विचारलाई कसरी अघि बढाउने भन्नेमा नेताहरुबीच छलफल भइरहेको छ । जसअनुसार दुई पक्षको दस्ताबेजलाई समेटेर निकासको बाटो निकाल्न प्रयास भइरहेको ती नेताको भनाइ छ ।

जसपालाई कम्युनिष्ट विचारसँग होइन, नामसँग आपत्ति छ । पार्टीमा नाम र अन्य दस्तावेजमा कम्युनिष्ट शब्द राख्न सो पार्टीले चाहेको छैन । तर एकीकृत समाजवादी पार्टी कम्युनिष्ट शब्द छाड्ने पक्षमा अझैसम्म नआएको बताइएको छ ।  यद्यपी बीचको बाटो के हुनसक्छ भनेर छलफल भइरहेको हो । यो विषयलाई शीर्ष तहमा पठाएर पनि छलफल गर्ने बताइएको छ ।

जसपाबाट गठन भएको वार्ता समतिका सदस्य गोविन्द चौधरीले अहिले दुवै पार्टीले दस्तावेज अध्ययनको काम सुरु गरेको बताए । अध्ययनपछि मात्र पार्टीको नाम, विचार, सिद्धान्तलगायतका विषयमा छलफल हुने उनको भनाइ छ । ‘दुई पक्षमा प्रारम्भिक छलफल भएको हो’, उनले भने, ‘त्यो छलफलमा अहिले पार्टीको नाम, अध्यक्ष प्रणाली, विचार, सिद्धान्तलगायतको विषयमा छलफल भएको छैन, दस्तावेज अध्ययनपछि त्यस विषयमा प्रवेश प्रवेश हुन्छ ।’