कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले बिहान ९ः३० बजे पदाधिकारी बैठक बोलाए

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।
अहिले बिहान ९ः३० बजे आफ्नै निवास धुम्बाराहीमा बस्ने गरी सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन्। कांग्रेसमा १३ जना पदाधिकारी छन्, कोषाध्यक्ष अझै मनोनीत भएका छैनन्।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको बताए।

कांग्रेसले नेविसंघलगायत भ्रातृ संस्थालाई पूर्णता दिने गृहकार्य गरेको छ। स्ववियु चुनाव चैतमा हुने भएकोले नेविसंघलाई पूर्णता दिने तयारी गरिएको हो।

यस्तै सभापति देउवाले अब बस्ने केन्द्रीय समिति बैठक तयारीलगायत विषयमा पनि कुराकानी गर्ने तयारी गरेका छन्। माघ १५ गते कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ। उक्त बैठकमा चुनावी समीक्षालगायत विभिन्न विषयमा छलफल हुनेछ।

नेता शेखर कोइराला पक्षले आइतबार बत्तिसपुतलीमा भेला गर्दै गठबन्धनलाई निरन्तरता दिन नसकेकोमा सभापति देउवाको आलोचना गरेका थिए। साथै प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनु गल्ती भएको उनीहरूको निष्कर्ष थियो।