विवाह दर्ता गर्ने र दुबै जना अमेरिकामा सँगै बस्ने धोको अपुरै

२ माघ, पोखरा । श्रीमान अमेरिका र श्रीमती अष्टेलियामा थिए । उनीहरूले योजना बनाए, पुस अन्तिम साता काठमाडौंमा भेट्ने र पोखरा जाने । घर माइत पुग्ने र वृद्ध बाआमा भेट्ने ।

दुई मुटु दुईतिर भएर नबस्ने । यसैपटक विवाह दर्ता गर्ने र दुबै जना अमेरिकामा सँगै बस्ने ।

यही योजनाअनुसार पोखराका शिवकुमार गुरूङ अमेरिकाबाट पुस २७ मा काठमाडौं ओर्लिए । अष्टेलियादेखि अनुष्का गुरूङ पनि काठमाडौं ओर्लिइन् ।

२ वर्षअधिमात्र उनीहरूले विवाह गरेका थिए । विवाहसँगै उनीहरू फेरि छुट्टिन विवश थिए, कास्की दाङसिङकी अनुष्का अष्ट्रेलियामा पढ्दै थिइन् भने शिवको अमेरिकामा व्यापार ।

छिट्टै भेट्ने गरेर छुट्टिएका उनीहरू भेटेर पोखरा जाने योजनामा थिए ।

‘पुस महिनामा जानू त्यति राम्रो नहुने मान्यता पनि थियो । त्यसैले पनि सक्रान्ति मान्ने गरि पोखरा जाने, बाआमा भेट्ने । विवाह दर्ता गर्ने सँगै बस्ने प्रक्रिया अगाडि बढाउने योजना उनीहरूको थियो,’ शिवका दाइ (काकाका छोरा) ज्योति गुरूङले भने, ‘त्यसैअनुरूप १ गते बिहानै जहाजमा पोखरा ओर्लिँदै थिए ।’

काठमाडौंबाट जुन जहाजमा उनीहरू पोखरा ओर्लिँदै थिए, त्यही जहाज बिहान करिब ११ बजे सेती खोँचमा दुर्घटनामा पर्‍यो । सँगै बाँच्ने कसम खाएका उनीहरूले एकै ठाउँमा ज्यान गुमाए ।

७६ वर्षीय सुबेदार भक्तबहादुर र ७२ वर्षीय आमा बुद्धि सुब्बा गुरूङ छोराको बाटो हेरेर बसिरहेका थिए । तर, उनीहरूका नजरमा छोरा बुहारी परेनन् । बाआमाले सडकमा नजर बिछ्याइरहे तर त्यही बाटो भएर छोराबुहारीको मृत्युको खबर आउँदा उनीहरू विक्षिप्त छन् ।

आफैं डाँडामाथिका घाम बनेका उनीहरूले एकमात्र छोरा-बुहारीको मृत्युको खबर सुन्दा विलापमा छन् । शिवले पहिलो घरबार बिग्रिएपछि अनुष्कासँग विवाह गरेका थिए । बाआमा धम्पुसबाट आएर बगालेटोलमा घर रूघिँरहेका थिए ।

माघको ४ गते घरमा नवदम्पतीलाई भित्र्याउने योजना रहेको अनुष्काका काका गोकुलमान गुरूङले बताए ।

अहिले उनीहरूको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । ‘हामी आफन्त भाइबुहारी शव बुझ्न अस्पतालमा पर्खिरहेका छौं,’ ज्योतिले भने, ‘उता बाआमा छोराको मृत अनुहार भए पनि एक पटक हेर्ने भनेर तड्पिरहेका छन् ।’