भातरमा कोरोना संक्रमित ५२ हजार नाघ्यो स्थिति जटिलतर्फ

२५ बैशाख, काठमाडौं । भारतमा आज बिहीबाररसम्म कोरोना भाइरस संक्रमितको संख्या ५२ हजार नाघेको छ । ११ दिनको अवधिमा यो संख्या दोब्बर भएको हो । योसँगै भारतमा अर्थतन्त्रलाई असर नपार्ने हिसाबले सीमित रुपमा आवश्यक व्यवसाय पुनः खोल्ने निर्णयले संक्रमणको अर्को लहर निम्त्याउने चिन्ता बढाएको छ ।
हिजो बुधबार मात्र भारतमा ३ हजार ४ सय ९० नयाँ संक्रमित फेला परेका छन् भने ९८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ५२ हजार ९ सय ६७ पुगेको छ। यस्तै संक्रमणका कारण १ हजार ७ सय ११ जनाको ज्यान गएको छ । पछिल्लो १० हजार संक्रमित तीन दिनको अवधिमा भेटिएका हुन् ।
भारतमा संक्रमित संख्या २० हजार देखि ३० हजार पुग्न सात दिन लागेको थियो भने त्यो संख्या ३० देखि ४० हजार पुग्न जम्मा पाँच दिन लाग्यो । यस्तै संक्रमित संख्या १० हजार पुग्न झन्डै ४३ दिन लागेको थियो ।
भारतमा पहिलोपटक जनवरी महिनामा ३ जनामा कोरोना पुष्टि भएको थियो ।
पछिल्लो पाँच दिनमा त्यहाँ औसतमा २ हजार ९ सय जनाको दरले नयाँ संक्रमित थपिदैं गएका छन् । महाराष्ट्र, गुजरात र दिल्ली कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेका छन् ।
महाराष्ट्रमा बुधबार १ हजार २ सय ३३ नयाँ केस पुष्टि भएसँगै त्यहाँ संक्रमित संख्या १६ हजार ७ सय ५८ पुगेको छ ।
महाराष्ट्रलाई गुजरातले पछ्याइरहेको छ । त्यहाँ बुधबारसम्म संक्रमित संख्या ६ हजार ६ सय २५ पुगेको छ । बुधवार दिल्लीमा ४ सय २८ नयाँ संक्रमित भेटिएका छन्। अब त्यहाँको कुल संक्रमित संख्या ५ हजार ५ सय ३२ भएको छ । भारतमा शनिबारसम्म १० लाख बढीको कोरोना परीक्षण गरिएको छ ।
अप्रिल १ सम्म भने ३८ हजार ९ सय १४ जनाको परिक्षण भएको थियो। भारतीय स्वास्थ्य मन्त्रालयले चाँडै नै परीक्षण दर दैनिकी १ लाखमा पुर्याउने जनाएको छ ।