पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहेको छ। तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु/कुहिरो लागेको छ।

यो हुस्सु/कुहिरो घाम लागेसँगै हटेर जाने सम्भावना रहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। ‘आज हुस्सु/कुहिरो दिनभरि बस्ने देखिँदैन’, उनले भनिन्,‘घाम लागेसँगै हटेर जानेछ।’

यस्तै काठमाडौं उपत्यकामा बिहानैदेखि मौसम खुलेको छ। दिउँसो पारिलो घाम लाग्ने मानन्धरले बताइन्। आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

शनिबार कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। आइतबार पनि कर्णाली प्रदेश र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

सोमवार भने प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली पहाडी भू-भागहरूका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।