संविधानले परिकल्पना गरेको सिस्टममा प्रधानमन्त्री चाहिँ प्रधानमन्त्री नै हुन्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

२५ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू कुनै घेराबन्दी र दबावमा नचल्ने बताएका छन् ।

सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रममा उनले प्रधानमन्त्रीले निर्णय गर्न सक्छ कि सक्दैन, घेराबन्दीमा पर्छ कि भन्ने चिन्ता नलिन आग्रह गरे ।

आफू प्रधानमन्त्री नियुक्त भएपछि कतै घेरामा पर्ने हो कि, प्रधानमन्त्रीले निर्णय गर्न सक्ने अवस्था कति हुने होला भन्ने प्रश्न उठेको पाएको प्रचण्डले बताए ।

‘हाम्रो सिस्टम, हामीले बनाएको संविधान, संविधानले परिकल्पना गरेको सिस्टममा प्रधानमन्त्री चाहिँ प्रधानमन्त्री नै हुन्छ’ उनले भने, ‘उसलाई कसैको प्रभाव, घेरा, दबावमा चल्न हाम्रो संविधानले, हाम्रो ऐन, कानुन र मान्यताले छुट दिएको छैन ।’

उनले अगाडि भने, ‘त्यस्तो प¥यो भने प्रधानमन्त्रीले कुनै किसिमले अर्कै ढंगले चल्ने परिस्थिति बन्न सक्छ तर प्रधानमन्त्री दबावमा वा निरीह भएर बस्ने परिकल्पना हाम्रो संविधानले गरेको छैन ।’

उनले प्रधानमन्त्रीले हरेक कुरामा निर्णय दिनुपर्ने र त्यसको आधार संविधान हुने पनि बताए । ‘त्यसबाहेक न्यूनतम साझा कार्यक्रम पनि हाम्रो सरकारलाई दिशानिर्देशन गर्ने दस्तावेज हो’ उनले भने ।

सरकारमा रहेका र सरकारलाई समर्थन गरेका दलहरु एक ठाउँमा आउने आधार न्यूनतम साझा कार्यक्रम नै रहेको प्रधानमन्त्री प्रचण्डले बताए । आफूहरुले राम्रो काम गर्ने र राम्रोबाहेक अरु काम गर्दै नगर्ने उनले दावी गरे ।