२२औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सङ्कटा फुटबल क्लबले जित्यो

पोखरा । २२औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०७९ को उपाधि सङ्कटा फुटबल क्लबले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको निकै रोमाञ्चक फाइनल खेलमा सङ्कटाले भुटनीज युथमाथि ३-२ गोल अन्तरले जित निकालेको हो । खेल निर्धारित समय २-२ गोलको बराबरीमा सकिएको थियो । अतिरक्त समयमा सङ्कटाले गोल गर्दै खेलमा बाजी मार्‍यो ।

खेलको सुरुवातमै २-० गोलको अग्रता बनाएको सङ्कटाले पहिलो हाफमै उक्त अग्रता जोगाउन सकेन ।  खेलको ८औँ मिनेटमा सुरज ज्यु ठकुरीले सङ्कटालाई अग्रता दिलाएका थिए । सुरजले निशान खड्काको क्रसलाई भुटनिज युथका गोलकिपर पूजन थापा मगरले बचाए पनि रिबाउन्डमा गोल गरेका हुन् । यस्तै खेलको ३५औँ मिनेटमा मेसुके ओलाेमाेउले  संकटाकाे अग्रता दाेब्बर बनाए । मेसुकेले सुनिल बलको कर्नरलाई गोलमा परिणत गरेका हुन् ।

२-० गोलले पछि परेको खेलमा ३७औँ भुटनिज युथका मिनेटमा रिनी सान्तिलाेनले गोल गरेपछि खेल २-१ गोलको स्थितमा आएको थियो । यस्तै इन्जुरी समयमा विल ग्रिफिथले भुटनिज युथलाई २-२ काे बराबरीमा ल्याए । उनले धिरज थजालीकाे फ्रिकिकमा बनेकाे मुभमा गोल गरेका थिए ।

त्यसपछि दोस्रो हाफमा कुनै टोलीबाट थप गोल नहुँदा खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा धकेलिएको खेलमा ११७ औँ मिनेटमा कप्तान सुनिल बलले गोल गर्दै सङ्कटालाई ३-२ काे राेमाञ्चक जित दिलाए । सुनिलले मेसुके ओलाेमाेउकाे पासलाई गोलमा परिणत गरेका थिए ।

उक्त जितसँगै सङ्कटाले दोस्रो पटक आहा राराको उपाधि जितेको हो । यसअघि सङ्कटाले २०७७ सालमा सो उपाधि जितेको थियो ।