महामन्त्रीद्धयले : अहिलेको परिस्थितिको गम्भीर आत्मसमीक्षा र आत्ममूल्यांकन गर्दै अबको बाटो तय गरिने

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले अहिलेको परिस्थितिको गम्भीर आत्मसमीक्षा र आत्ममूल्यांकन गर्दै अबको बाटो तय गरिने बताएका छन्।

शनिबार मेलमिलाप दिवसको शुभकामना दिँदै महामन्त्रीद्वयले अहिलेको परिस्थितिबारे आत्मसमीक्षा र आत्ममूल्यांकन हुनुपर्ने बताएका हुन्। यसरी अबको बाटो तय गर्ने उनीहरूको भनाई छ।

प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल भएर पनि प्रतिपक्ष बन्न पुग्दा पार्टीमा गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाउनु स्वभाविक भएको बताएका छन्।

यस्तो बेलामा दुई वटा दायित्व भएको उनीहरू बताउँछन्।

‘पहिलो, आग्रह र पूर्वाग्रहमुक्त भएर संयमतापूर्वक समग्र घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिको इमानदार समीक्षा गर्ने। दोस्रो, यसबिचमा हाम्रो असावधानी, कमजोरी र गल्ती जो भएको छ, त्यसलाई कुनै ढाकछोप नगरी स्वीकार्दै खुला र पारदर्शी छलफल मार्फत कारण र कारकको प्रष्ट पहिचान गरेर अबको मार्गचित्र तय गर्ने। नेपाली कांग्रेसले गम्भीर आत्मसमीक्षा र आत्ममुल्यांकन गर्दै सुविचारित ढंगबाट अबको बाटो तय गर्नेछ,’ महामन्त्रीद्वयले जारी गरेको वक्तव्यमा भनिएको छ।

नेपाली कांग्रेसले जिम्मेवार प्रतिपक्षको रूपमा सशक्त भूमिका निर्वाह गर्ने पनि उनीहरूले बताएका छन्।

यस्तै अहिलेको परिस्थितिलाई संकटको रूपमा लिने छुट नभएको बताउँदै पार्टीको शुद्धिकरण र पुनर्जागरणको अवसरमा बदल्ने गरी प्रस्तुत गर्नुपर्ने भनाइ राखेका छन्।