सत्तारुढ गठबन्धनको समीकरण टुटेको छ । आज बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको वार्तामा काँग्रेसेल प्रधानमन्त्री राष्ट्रपति दुबै पद नछोड्ने भएपछि कुरा नमिल्दा गठबन्धन टुटेको होे । सो बारे जानकारी दिंदै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बालुवाटारमा बसेको बैठकपछि सत्तारुढ गठबन्धन टुटेको बताएका छन् । गठबन्धनमा सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘अब गठबन्धनको औचित्य सकियो’ भन्दै बैठक स्थल छाडेको बताए ।
‘हामीले गठबन्धन जोगाउन सकेनौँ । अब हाम्रो हातमा केही रहेन,’ पौडेलले भने । पौडेलले यसअघि गठबन्धनलाई जोगाउन आफै दौडधुप गर्दै आएका
थिए । गठबन्धनमा पहिलो पालीमा कसले पहिले सरकारको नेतृत्व गर्ने विषयमा विवाद रहेको थियो । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुवैले आफूले पहिले सरकारको नेतृत्व गर्न पाउनुपर्छ भन्दै आइरहेका थिए ।
यता बैठकपछि नेपाली कांग्रेसका नेता तथा सरकारका प्रवक्ता समेत रहेका मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने प्रधानमन्त्री शेरबहादुर देउवा अझै पनि गठबन्धन जोगाउने पक्षमा रहेको बताए । उनले दलहरु पुनः छलफलमा बस्ने बताए पनि समय भने बताउन सकेनन् ।