बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पदबाट राजीनामा

बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पदबाट राजीनामा दिएका छन् । शुक्रबार प्रदेश प्रमुख समक्ष पाण्डेले राजीनामा बुझाएका हुन् । धादिङबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका पाण्डे प्रदेशको बहालवाला मुख्यमन्त्री रहेकै अवस्थामा बिहीबार प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए ।

बागमती प्रदेशका मुख्यमन्त्री रहकै अवस्थामा संघीय संसदमा निर्वाचिन भएर शपथ लिएको भन्दै राजनीतिक वृत्तमा पाण्डेको आलोचना समेत भएको थियो ।

पाण्डे प्रदेशसभाको पहिलो कार्यकालमा तेस्रो मुख्यमन्त्रीको रुपमा २०७८ कात्तिक ११ गते जिम्मेवारी सम्हालेका थिए । एमाले विभाजनपछि सत्ता गठबन्धनमा रहेर नेकपा एकीकृत समाजवादीको तर्फबाट उनले सत्ता नेतृत्वको अवसर पाएका थिए । उनको राजीनामासँगै काम चलाउ सरकारको जिम्मेवारी समेत उनैलाई दिइएको प्रदेश प्रमुख कार्यालय हेटौंडाले जनाएको छ ।

यस अघि बागमती प्रदेशमा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र नेता डोरमणि पौडेल मुख्यमन्त्री भइसकेका छन् ।