Breaking News

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सभामुखको पदभार ग्रहण गरे

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सभामुखको पदभार ग्रहण गरेका छन् । आज बुधवार सिंहदरबार स्थित संसद सचिवालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्नुअघि ज्येष्ठ सदस्य सभामुख जबराले राष्ट्रपति निवासमा पुगेर ज्येष्ठ सदस्यको हैसियतले पद तथा गोपनियताको शपथग्रहण गरेका थिए ।

त्यसलगत्तै सभामुखको कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा उनले सभामुखको भुमिका तटस्थ र स्पष्ट हुनुपर्ने बताए । उनले ज्येष्ठ सदस्यको हैसियतमा सभामुखको भुमिकालाई निष्पक्ष राख्ने बताए । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले देशका लागि राम्रो काम गर्न सबै राजनीतिक दलहरूबीच समन्वयात्मक भूमिका निर्वाह गर्ने पनि बताए । उनले सदनको पवित्र प्रजातान्त्रिक भावना र बहुदलीय स्वरुपलाई अघि बढाउने काम आफूले गर्ने प्रतिवद्धता जनाए ।

उनले भने– ‘सभामुखको भूमिका स्पष्ट छ । तटस्थ हुनुपर्छ । देशको भलोको लागि सबैको बीचमा समन्वयात्मक भूमिका निभाउनुपर्नेछ । सबैसँग समन्वय गरेर अघि बढ्नेछु । सदनको पवित्र प्रजातान्त्रिक भावना र बहुदलीय स्वरूपलाई अघि बढाउने काम गर्नेछु । केही दिनका लागि भएपनि मुलुकको अभिभावकको रुपमा देशलाई अघि बढाउन पहल गर्नेछु ।’

ज्येष्ठ सदस्य सभामुख जबराले पदमा रहुन्जेलसम्म मुलुकको अभिभावक बनेर काम गर्ने बताए । राप्रपाका पूर्व अध्यक्ष समेत रहेका ८१ वर्षीय जबरा प्रतिनिधिसभामा सबैभन्दा बढी उमेरको सांसद हुन् । गत मंसिर ४ गतेको निर्वाचनबाट निर्वाचित संघीय सांसदहरूलाई बिहीबार जबराले शपथग्रहण गराउनेछन् । संसदले नयाँ सभामुख चयन नगरेसम्म राणाले नै संसदको अध्यक्षता गर्नेछन् ।