समानुपातिकको १ करोड ३ लाख ७९ हजार सदर मतमा कसले कति पाए

मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना लगभग अन्तिम चरणमा पुगेको छ।

बिहान साढे ९ बजेसम्मको मतपरिणामानुसार प्रतिनिधिसभातर्फ अब ३ क्षेत्रको मात्र अन्तिम परिणाम आउन बाँकी छ। जसमा नेपाली कांग्रेसले अग्रता लिएको छ।

यता समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले) ले अग्रता कायमै राखेको छ। पछिल्लो परिणाम अनुसार एमालेले २७ लाख ७२ हजार ९८५ मत पाएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ४३ हजार २९६ मत ल्याएको छ ।

नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ। माओवादी केन्द्रले ११ लाख ६१ हजार १७३ मत पाएको छ। यस्तै, ११ लाख १९ हजार ४१६ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँच लाख ८५ हजार ८८७ मतसहित पाँचौँ, जनता समाजवादी पार्टी (जसपा) चार लाख २० हजार ९२८ मत पाउँदै छौटौँ स्थानमा छ ।

जनमत पार्टी तीन लाख ९४ हजार ३४० मतसहित सातौँ, नेकपा (एकीकृत समाजवादी) दुई लाख ९४ हजार १८ मतसहित आठौँ, नागरिक उन्मुक्ति पार्टी दुई लाख ७१ हजार ६५७ मत पाउँदै नवौँ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक लाख ६७ हजार २७८ मतसहित दशौँ स्थानमा छ।

यो निर्वाचनमा जम्मा १ करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता थिए । त्यसमध्ये ६१ प्रतिशत अर्थात् करिब १ करोड नौ लाख हाराहारीमा मत खसेको थियो ।

राजनीतिक दल सम्बन्धी ऐनमा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ खसेको सदर मतको कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने उल्लेख छ ।

प्रतिनिधिसभामा एक सिट प्रत्यक्षसहित समानुपातिकतर्फ कम्तीमा तीन लाख हाराहारी मत प्राप्त गर्ने दलले मात्रै यस निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ ।

हेर्नुहोस् कुन दलले कति मत पाए ?
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) – २७,७२,९८५

नेपाली काँग्रेस – २६,४३,२९६

एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/नेपाल समाजवादी पार्टी)- ११,६१,१७३

राष्ट्रिय स्वतन्त्र पार्टी- ११,१९,४१६

राष्ट्रिय प्रजातन्त्र पार्टी- ५,८५,८८७

जनता समाजवादी पार्टी, नेपाल – ४,२०,९२८

जनमत पार्टी- ३,९४,३४०

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)- २,९४,०१८

नागरिक उन्मुक्ति पार्टी – २,७१,६५७

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल- १,६७,२७८

नेपाल मजदुर किसान पार्टी – ७५,०४२

हाम्रो नेपाली पार्टी – ५५,५८७

मंगोल नेशनल अर्गनाइजेशन – ४८,५०४

राष्ट्रिय जनमोर्चा – ४६,३४७