Breaking News

कर्णाली प्रदेशमा कस्तो बन्ला सत्ता समीकरण ?

कर्णाली प्रदेशमा प्रतिनिधि तथा प्रदेश सभाको प्रत्यक्षतर्फको नतिजा आइसकेको छ।

प्रतिनिधि सभातर्फ गठबन्धनले उठाएका १२ जना नै उम्मेदवार विजयी भएका छन्। प्रदेश सभातर्फ भने गठबन्धन असफल भएको छ।

प्रदेशका २४ वटा निर्वाचन क्षेत्रमध्ये गठबन्धनले १८ वटामात्र सिट जितेको छ।

पाँच सिटमा गठबन्धनलाई पाखा लगाउँदै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। एक सिटमा गठबन्धनविरूद्ध उभिएका स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

कर्णाली प्रदेशमा कांग्रेसको नेतृत्वमा नेकपा माओवादी र नेकपा (एकीकृत समाजवादी) गठबन्धन गरी चुनाव लडेका थिए। गठबन्धनका बीच पनि यी दलहरू प्रदेशतर्फ पूर्ण रूपमा सफल हुन सकेनन्।

गठबन्धन गर्दा माओवादीले भाग पाएका प्रदेश सभाका १० मध्ये ९ वटा सिट मात्र जितेको छ।

नेपाली कांग्रेसले भाग पाएका १२ मध्ये ३ सिट गुमाएको छ भने समाजवादीले भाग पाएका दुवै सिट गुमाएको छ।

माओवादीले गुमाएको एक, कांग्रेसले गुमाएका ३ मध्ये २ र समाजवादीले गुमाएको दुइटा सिटमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। कांग्रेसले गुमाएका ३ मध्ये एक सिटमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका हुन्।

कर्णाली प्रदेश सभातर्फको समानुपातिक मत पनि गनेर सकिएको छ।

समानुपातिकमा खसेको कुल ६ लाख २० हजार ९३३ मतमध्ये ५ लाख ७७ हजार ८२९ मत सदर भएको छ। सदर मतमध्ये समानुपातिकमा सबभन्दा धेरै नेकपा एमालेले पाएको छ।

एमालेले १ लाख ८३ हजार ९५० मत पाएको छ। नेपाली कांग्रेसले १ लाख ७० हजार ७५६ मत पाएको छ।

यस्तै, नेकपा माओवादी केन्द्रले १ लाख ३७ हजार ६२९ मत पाएको छ भने नेकपा (एकीकृत समाजवादी) ले ३५ हजार ८२६, राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ हजार १८६ र नेपाल मजदुर किसान पार्टीले ८ हजार ९१३ मत पाएका छन्।

कर्णालीमा प्रदेश सभातर्फ समानुपातिकमा यिनै ६ वटा दलले थ्रेसहोल्ड कटाएका छन्।

मतका आधारमा सिट पाउनेमा भने नेमकिपा बाहेकका पाँच वटा दल मात्र छन्। कसले कति सिट पाउने भन्ने यकिन भने छैन।

प्रत्यक्षको नतिजा र समानुपातिकतर्फको मतगणना सकिइसक्दा पनि प्रदेशमा सत्ता समीकरण कस्तो हुने भन्नेबारे छलफल चलिसकेको छैन। गठबन्धनकै सरकार बने पनि कसले नेतृत्व लिने भन्ने विषय बाहिर आइसकेको छैन।

यदि सरकार बनाउँदासम्म सत्ता गठबन्धन कायमै रहे कर्णालीमा पुरानै समीकरण दोहोरिने छ।

अहिले पनि कर्णालीमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेको छ। अब गठबन्धनकै सरकार बन्यो भने पनि माओवादीले वा कांग्रेस कसले नेतृत्व गर्ने भन्नै यकिन भने छैन।

प्रत्यक्षतर्फको जम्मा सिट जोड्दा प्रदेश सभामा गठबन्धनका १८ जना सांसद हुन्छन्। यद्यपि जुम्लामा स्वतन्त्र जितेका सांसद नेपाली कांग्रेसबाट टिकट नपाएपछि बागी उठेका थिए। प्रदेश सभापति ललितजंग शाहीविरूद्ध उम्मेदवारी दिएर जितेका उनले सरकार बनाउँदा आफ्नै दलतर्फ फर्किए भने १९ जना सांसद प्रत्यक्षतर्फकै हुन्छन्।

प्रदेशमा समानुपातिकतर्फको मत हेर्दा सत्ता गठबन्धनभित्रको कांग्रेसले ५, माओवादीले ४ र नेकपा (एस) ले १ जना सांसद पाउने देखिन्छ। यदि यही अनुपातमा सत्ता गठबन्धनभित्रका दलहरूले सांसद पाएमा र स्वतन्त्र जितेकाले समर्थन गरेकोमा २८ जना सांसद गठबन्धनकै हुन्छन्।

कर्णाली प्रदेश सभा ४० सदस्यीय छ। सरकार निर्माणका लागि २१ जनाको बहुमत भए पुग्छ।

समानुपातिकतर्फको मतका आधारमा कर्णाली प्रदेशमा नेकपा एमालेले पनि पाँच जना थप सांसद पाउने देखिन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले एक जना सांसद पाउने देखिन्छ।

समानुपातिकसहित कर्णाली प्रदेश सभामा नेकपा एमालेका १० जना सांसद हुनेछन्। यदि गठबन्धनकै सरकार बनेमा एमाले प्रमुख प्रतिपक्षी दल बन्नेछ।

एक जना सांसद हुने राष्ट्रिय प्रजातन्त्र पार्टी भने कर्णालीमा कता ढल्किने टुंगो छैन। २०७४ मा पनि कर्णाली प्रदेश सभामा राप्रपाका एक जना मात्र सांसद थिए। पहिलो अवधिमा राप्रपाले कतै पनि समर्थन नगरी एकल बसेको थियो।

कर्णाली प्रदेशमा गठबन्धनको सरकार बन्दा मुख्यमन्त्रीका दाबेदार भने तीन जना छन्।

नेपाली कांग्रेसबाट हालका मुख्यमन्त्री जीवनबहादुर शाही प्रमुख दलभित्रका प्रमुख दाबेदार हुन्। उनले अहिले पनि हुम्ला (ख) बाट प्रदेश सभा सदस्य जितेका छन्।

नेकपा माओवादीले नेतृत्व लिने सहमति भएमा भने दुई जना प्रमुख दाबेदार छन्। रूकुम पश्चिम (ख) बाट प्रदेशसभा सदस्य जितेका राजकुमार शर्मा र सुर्खेत–२ (ख) बाट प्रदेशसभा सदस्य जितेका बिन्दमान विष्ट मुख्यमन्त्रीका दाबेदार हुन्।

नेकपा माओवादी केन्द्रभित्र पनि यी दुई जना फरक गुटका हुन्। कर्णाली सरकारमा जनार्दन शर्मा गुट हाबी हुन सके शर्मा मुख्यमन्त्री बन्न सक्नेछन् भने शक्ति बस्नेत गुट हाबी हुन सकेमा विष्टको सम्भावना छ।

यी हुन् प्रदेशमा प्रत्यक्ष जितेका सांसदहरू:

नेकपा माओवादी केन्द्र

हुम्ला (१) रणसिंह परियार
डोल्पा (२) वीरबहादुर शाही
कालीकोट (१) दुर्गाबहादुर रावत
सल्यान (१) भीमप्रकाश शर्मा
रूकुम पश्चिम (१) महेन्द्र केसी
रूकुम पश्चिम (२) राजकुमार शर्मा
सुर्खेत–१ (२) कृष्ण जिसी
सुर्खेत–२ (२) विन्दमान विष्ट
मुगु (२) मंगलबहादुर शाही

नेपाली कांग्रेस

सुर्खेत (१) खड्ग पोखरेल
जाजरकोट (१) वेदराज सिंह
जाजरकोट (२) राजिवविक्रम शाह
सल्यान (२) सुरेश अधिकारी
दैलेख–१ (१) पुर्णबहादुर खत्री
दैलेख–१ (२) कृष्ण विसी
दैलेख–२ (१) घनश्याम भण्डारी
कालीकोट (२) हिक्मतबहादुर विष्ट
हुम्ला (२) जीवनबहादुर शाही

नेकपा एमाले

सुर्खेत–२ (१) यामलाल कँडेल
दैलेख–२ (२) विनोदकुमार शाह
जुम्ला (२) टेकराज पछाई
डोल्पा (१) शेरबहादुर बुढा
मुगु (१) जीतबहादुर मल्ल

स्वतन्त्र

जुम्ला (१) देवेन्द्रबहादुर शाही

समानुपातिकतर्फ कसको कति मत?

कुल खसेको मतः ६२०९३३
सदर मतः ५७७८२९
नेकपा एमालेः १८३९५०
नेपाली कांग्रेसः १७०७५६
नेकपा माओवादी केन्द्रः १३७६२९
नेकपा (एस): ३५८२६
राप्रपाः २५१८६

सेतोपाटीबाट

लेखक : दिपकजंग शाही