नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय पार्टी बन्ने अग्रसरतिर

८३ लाख ९२ हजार २९८ मत गणना हुँदा एकीकृत समाजवादीले २ लाख २२ हजार ७५७ मत

प्रतिनिधि सभामा समानुपातिकतर्फको जारी मतगणनाको ७५ प्रतिशत बढी मत गणना भइसक्दा नेकपा (एकीकृत समाजवादी) लाई राष्ट्रिय पार्टी बन्न चाहिने ३ प्रतिशतको थ्रेसहोल्ड पार गर्न सकस परिरहेको छ।

आज बिहानसम्म समानुपातिकतर्फ ८३ लाख ९२ हजार २९८ मत गणना हुँदा एकीकृत समाजवादीले २ लाख २२ हजार ७५७ मत पाएको छ। अर्थात् अहिलेसम्म उसको मत २.६५ प्रतिशत पुगेको छ।

९ लाख मत गणना हुँदा १.५ प्रतिशतको हाराहारीमा मत पाइरहेको एकीकृत समाजवादीको मत निकै धिमा गतिमा बढिरहेको छ।

१९ लाख मत गणना हुँदा एकीकृत समाजवादीले १.७ प्रतिशत मत पाएको थियो। ४८ लाख मत गणना हुँदा भने उसले २ प्रतिशत मत कटाएको थियो। आज बिहान ६७ लाख मतगणना हुँदा एकीकृत समाजवादीले २.५ प्रतिशत मत पाएको थियो। ४८ लाखदेखि ६७ लाखसम्मको गणनामा उसको मत आफ्नो मत केही बढेको थियो।

एकीकृत समाजवादी तीन प्रतिशतको थ्रेसहोल्ड पार गर्नेतर्फ अग्रसर भएपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चासो व्यक्त गरेका थिए।

शनिबार साँझ एकीकृत समाजवादीलाई संकेत गर्दै समानुपातिकतर्फ केही दलको मत अस्वाभाविक रूपमा बढ्दै गएको ओलीले बताएका थिए।

‘एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत मत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गलत कार्य पनि हुनसक्छ’ भन्दै ओलीले मतगणनास्थलमा रहेका आफ्ना प्रतिनिधिहरूलाई चनाखो हुन भनेका थिए।

७६ लाख मत गणना हुँदासम्म एकीकृत समाजवादीको मत २.५५ प्रतिशत थियो। ८३ लाख मत गणना भएपछि एकीकृत समाजवादीले २.६ प्रतिशत मत पाएको देखिन्छ।