८ मंसिर, काठमाडौं । दैलेखबाट एकीकृत समाजवादीका अम्मरबहादुर थापा र नेपाली कांग्रेसका दिक्पाल कुमार शाही प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । थापा क्षेत्र नम्बर १ बाट र शाही २ बाट सांसद पदमा विजयी भएका हुन् ।
थापाले नेकपा एमालेका उम्मेदवार रविन्द्रराज शर्मालाई ८४९ मत अन्तरले हराए । थापाले १८ हजार २५६ मत पाउँदा शर्माको पक्षमा १७ हजार ४०७ मत पर्यो । राप्रपाकी महामन्त्री कुन्तीकुमारी शाही ४ हजार ६०२ मतसहित तेस्रो भइन् ।
यसैगरी दैलेख क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दिक्पालकुमार शाही निर्वाचित भए । नेकपा एमालेका लक्ष्मीकुमार पोख्रेललाई १५३ मतान्तरले हराउँदै शाही सांसद चुनिएका हुन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार शाहीले २० हजार १५८ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पोख्रेलले २० हजार ५ मत पाए । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का केशेन्द्र कार्कीले ३ हजार ८३, राष्ट्रिय स्वतन्त्र पार्टीका बखत भण्डारीले ७१३ र राप्रपाका लोकेन्द्रराज गिरीले ४८९ मत पाए ।
४७ हजार १९४ मत खसेको यो क्षेत्रमा २ हजार ७४६ मत बदर भएको छ ।
प्रदेश सभातर्फ क्षेत्र नम्बर १को १ बाट नेपाली कांग्रेसका पूर्णबहादुर खत्री र १ को २ बाट कांग्रेसकै कृष्णकुमार बीसी विजयी भए ।
यसैगरी क्षेत्र नम्बर २ को १ बाट कांग्रेसकै घनश्याम भण्डारी र २ बाट एमालेका विनोद कुमार शाह विजयी भएका छन् ।