प्रतिनिधिसभा प्रदेश सभा निर्वाचनको मतदान सम्पन्न : मतदाताहरुमा मतदानमा उत्साह देखिएन

आज बिहान ७ बजेदेखि अहिहे बेलुका ५ बजेसम्म देशभर एकसाथ भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान भरखर सम्पन्न भएको छ । निर्वाचन आयोगले मतदानस्थलभित्र पसेकाहरुले भने त्यसपछि पनि मत खसाल्न पाउने जनाएको छ ।

आयोगले छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जनाएको छ । यद्यपि आशातित मत भने खस्न नसकेको सरोकारवालाहरुले बताएका छन् । निर्वाचन पर्यवेक्षकहरुले यस पटकको निर्वाचनमा मतदाताहरु उत्साहित नदेखिएको प्रतिक्रिया दिएका
हुन् ।

आइतबार दिउँसो आम निर्वाचन पर्यवेक्षण समिति, नेपाल (जिओक) ले गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचन शान्तिपूर्ण रुपमा अघि बढेपनि मतदाताहरूको उपस्थिति कम पाएको बताए । उनले उपस्थित मतदाताहरुमा मतदान उत्साहजनक रहेको बताए ।

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता मतदानका लागि योग्य थिए । तर पहिलाको जस्तो उत्साहजनक रुपमा मतदान भएको देखिएन । तर देशभरमा कति प्रतिशत मतदान भयो भन्ने विवरण निर्वाचन आयोगले पत्रकार सम्मेलन गरेर बताउला ।