नेपाली दर्शकले विश्वकप हेर्ने सम्भावना कमजोर हुँदै

२७ कात्तिक, काठमाडौं । विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणका सम्बन्धमा सर्वोच्च अदालतमा परेको मुद्दामाथि सुनुवाइ हुन नसक्दा नेपाली दर्शकले विश्वकप हेर्ने सम्भावना कमजोर हुँदै गएको छ ।

विश्वकप प्रसारण गर्न नेपालका लागि अधिकार पाएको मिडिया हबले ‘प्याकेज भ्यू’ मोडलमा विश्वकप प्रसारणको तयारी गरिरहेका बेला प्रसारण रोक्न माग गर्दै अदालतमा मुद्दा परेको थियो । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार राउतको एकल इजलासले गत कात्तिक २२ गते प्रसारण रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

आदेश संशोधनको माग गर्दै मिडिया हवले निवेदन दिएपछि गत शुक्रबार विश्वकपसम्बन्धी मुद्दाको पेशी तोकेको थियो । तर, अन्तिममा समयमा हेर्न नभ्याइने भन्दै पेशीबाट यो मुद्दालाई हटाइयो ।

आइतबार विश्वम्भर श्रेष्ठ र मनोजकुमार शर्माको इजलासमा परेको यो मुद्दा फेरि पनि हेर्न नभ्याइने भन्दै हटाइएको छ ।