Breaking News

गण्डकी प्रदेश सरकारका ऊर्जा मन्त्री हरिशरण आचार्यलाई बर्खास्त गर्ने तयारी

गण्डकी प्रदेश सरकारका ऊर्जा मन्त्री हरिशरण आचार्यलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बर्खास्त गर्ने तयारी गरेका छन् । आचार्यलाई मुख्यमन्त्री पोखरेलले आसन्न निर्वाचनमा एमाले उम्मेदवारलाई सहयोग गरेको भन्दै बर्खास्त गर्न लागेको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार आचार्यले पछिल्लो समय एमाले उम्मेदवारलाई मत माग्दै हिँडेका आरोप छ ।

एमाले उम्मेदवारलाई भोट माग्दै हिँडेको सूचना आयो । गठबन्धन दलका नेताले मुख्यमन्त्रीलाई सूचना दिएपछि मुख्यमन्त्रीज्यूले बर्खास्त गर्न लाग्नुभएको सत्य हो,’ उनले भने ।  यता मन्त्री आचार्यलाई आफू बर्खास्त गर्न लागेको कुरा थाहा नपाएको बताए । उनले आफूले कसैको पक्षमा भोट माग्ने  काम नगरेकाले यो मिथ्या आरोप भएको सुनाए ।

म २१ गतेबाट स्वतन्त्र छु । कसैको पक्षमा १ भोट मागेको छैन,’ उनले भने, ‘म अहिले स्वतन्त्र हो । मलाई कुनै पक्षपात
छैन । कसैको चाकडी गरेर पदमा बस्ने रहर पनि छैन,’ आचार्यले भने ।   आचार्य ०७४ सालको निर्वाचनमा  नयाँ शक्ति पार्टीबाट  गण्डकी प्रदेशसभामा विजयी भएका थिए । आचार्यलाई हटाउन मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुखलाई पत्र पठाउने तयारी भइरहेको एक मन्त्रीले बताए । यसअघि आचार्यले नेपाल समाजवादीका उम्मेदवार फणीन्द्र देवकोटाविरुद्ध बागी उम्मेदवारी दिएर पछि फिर्ता लिएका थिए ।