जसपा चुनावी प्रतिवद्धता सार्वजनिक : कार्यकारी राष्ट्रपति, संविधान संशोधन, परिमार्जन तथा पुनर्लेखनको आवश्यकता

जनता समाजवादी पार्टी नेपाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । प्रतिबद्धता पत्रमा पार्टीले संविधान संशोधन, परिमार्जन तथा पुनर्लेखनको आवश्यकता औँल्याएको छ । पहिचान र सामर्थ्यको आधारमा राज्य पुनर्संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली तथा न्याय प्रणालीमा परिवर्तन आवश्यक रहेको जिकिर गरेको हो ।

पार्टीले प्रतिबद्धता पत्रमा समानुपातिक निर्वाचन प्रणालीको आधारमा सबै तहको निर्वाचन गर्नुपर्ने उल्लेख गरेको छ । त्यस्तै शासकीय स्वरुपमा कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था गर्ने तथा कार्यकारी राष्ट्रपतिले समावेशी रूपमा सक्षम व्यक्तिहरूको छनोट गरेर मन्त्रिपरिषद् बनाउने उल्लेख गरेको छ ।

प्रतिबद्धता पत्रको प्रस्तावनामा नै काँग्रेसलाई सर्वसत्तावादीको आरोप लगाएको छ । नवउदारवादी पुँजीवादी व्यवस्थाको रक्षालाई नै आफ्नो ध्येय ठान्ने काँग्रेसको राजनीतिक चरित्र सत्ता प्राप्ति रहेको आरोप जसपाले लगाएको छ । सत्ताको बलमा शक्ति आर्जन गर्ने, शक्ति स्रोतमाथि आफ्नो आधिपत्य जमाउने र त्यो आधिपत्यका लागि राजनीतिक अस्थिरता निम्त्याई रहेको आरोप जसपाको छ ।