जर्मन चान्सलर ओलाफ शोल्ज र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा भेटवार्ता

जर्मन चान्सलर ओलाफ शोल्ज र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा भेटवार्ता भएको छ । शोल्जको बेइजिङ आगमनले सन् २०१९ मा कोभिड–१९ महामारी सुरु भएदेखि जी–सेभेनका सदस्य मुलुकका नेता र चिनियाँ नेताबीच पहिलो भेट भएको हो । जी–सेभेनमा विश्वका सबैभन्दा सम्पन्नशाली पश्चिमी मुलुकहरु क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र संयुक्त राज्य अमेरिका सदस्य छन् ।

शुक्रबार व्यापारिक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेइजिङ पुगेका शोल्जले चीनसँगको आर्थिक सम्बन्ध बढाउनमा इच्छा देखाएको देखिन्छ । यसका लागि उनले सीको नेतृत्वमा बढ्दो अधिनायकवादका सन्दर्भमा भ्रमण नगर्न गरिएको आह्वान बेवास्ता गरेका थिए ।

शोल्जसँग प्रत्यक्ष भेटघाटको क्रममा सीले दुई प्रभावशाली राष्ट्रहरूको रूपमा चीन र जर्मनीले ‘परिवर्तन र अशान्तिको समयमा’ विश्व शान्तिका लागि सँगसँगै काम गर्नुपर्ने बताए । युक्रेनले रुसमा आक्रमण गरेर विधिमा आधारित विश्व व्यवस्थामा समस्या सिर्जना गरेको समयमा विश्व नेताको भेटघाटले राम्रो गर्ने शोल्जले बताएको वार्तामा रहेका रोयटर्स प्रतिनिधिमण्डलले जानकारी दिएका छन् ।

शोल्ज बेइजिङ जाुनअघि एक पत्रिकालाई अन्तर्वार्ता दिँदै जर्मनीका विपक्षी राजनीतिज्ञ नोर्बर्ट रोएटगेनले शोल्जको भ्रमणको विरोध गरे । ‘हाम्रो अर्थतन्त्र चीनमा निर्भर हुँदै जाँदा पनि चीनसँगको व्यापारमा पुनरविचार नगर्ने शोल्जको निर्णय घातक हुनसक्छन,’ रोएटगेनले भने ।

‘चान्सलर शोल्जले यस्तो विदेश नीति अपनाइरहेका छन् जसका कारणले जर्मनीले उसका निकटतम साझेदारहरूको विश्वास गुमाउनेछ,’ रूढिवादी सीडीयू पार्टीका नेता रोएटजेनले भने । उनले शोल्जलाई चीनसँगको सम्बन्धमा कोहीसँग सल्लाह नगरी ‘एक्लै’ अघि बढिरहेको पनि आरोप लगाए ।

जर्मनीको सरकारले भने बर्लिनले भ्रमणअघि अमेरिका र युरोपका प्रमुख साझेदारहरूसँग परामर्श गरेको र शोल्जले चिनियाँ नेताहरूसँगको भेटघाटमा संवेदनशील विषय उठाउने वाचा गरेको बताएको छ । स्कोल्ज आफैले पनि एउटा अखबारको अन्तर्वार्तामा चीनको विषयमा रहेको विवादहरू चिनियाँ समकक्षसँगको वार्तामा सम्बोधन गरिने बताए । विशेषतः चीनको पश्चिमी सिनजियाङ क्षेत्रमा मानवअधिकारको मुद्दा र ताइवानको स्थिति वहसको सुचिमा रहेको बताइएको छ ।

जर्मन र चिनियाँ अर्थतन्त्र एकअर्कासँग बलियो गरी अन्तरनिर्भर रहेका छन् । चीन ठूला मेसिनरीको लागि जर्मनीमा निर्भर छ भने जर्मन कारको चीनमा ठूलो माग हुन्छ । त्यस्तै जर्मनीमा चिनियाँ उपभोग्य सामानको ठूलो बजार छ ।

ओलाफ शोल्जको भ्रमण र त्यसलाई लिएर उत्पन्न विवादले युरोपमा बेइजिङसँग गरिने व्यवहारलाई लिएर एक आवाज नभएको सङ्केत गरेको केही विश्लेषकले बताएका छन् । आलोचनाकै कारण पनि यो भ्रमण छोटो गरिएको आशंका गरिदैंछ । जर्मन चान्सलर करिब २४ घण्टा मात्रै चीनमा रहनेछन् ।