प्राविधिक समस्याका कारण इन्स्टाग्राम अकाउन्ट करिब आठ घण्टासम्म बन्द

१५ कात्तिक, काठमाडौं । प्राविधिक समस्याका कारण इन्स्टाग्राम अकाउन्ट करिब आठ घण्टासम्म बन्द भएको छ । इन्स्टाग्रामले सूचना जारी गरी अहिले समस्याको समाधान भइसकेको जनाएको छ ।

विश्वभरबाट इन्स्टाग्राम अकाउन्ट नचलेको र फलोअर्स घटेको गुनासो आएको थियो । तर के कारणले यस्तो भयो भन्ने अन्यौल थियो । इन्स्टाग्रामले पनि समस्या पत्ता लगाउने र समाधान गर्ने कोसिस भइरहेको जानकारी दिएको थियो ।

आज बिहान भने उसले माफी नै मागेको छ र समस्याको समाधान गरिसकेको जनाएको छ । ‘हामीले अहिले यो समस्याको समाधान गरेका छौं । यसबाट विश्वका विभिन्न भागहरुमा मानिसहरुलाई आफ्नो खाताको पहुँचमा पुग्न समस्या भएको थियो, माफ गर्नुहोला’ इन्स्टाग्रामले भनेको छ ।

तर अझै पनि धेरैले आफ्नो अकाउन्ट बन्द नै रहेको कमेन्ट गरेका छन् ।
यसअघि युजरलाई इन्स्टाग्राम अकाउन्ट केही समयका लागि बन्द हुन लागेको नोटिफिकेसन आएको थियो । धेरैले त्यो नोटिफिकेसन सेयर गर्दै आक्रोश व्यक्त गरेका थिए ।

सामान्यतया यस्तो समस्या साइबर हमला भएपछि देखिने गर्दछ । एकपटक ट्वीटरमा यस्तै साइबर हमला भएको थियो । कयौं अकाउन्ट ह्याक भएका थिए । तर इन्स्टाग्राममा के कारणले समस्या आएको हो र कस्तो खालको प्राविधिक समस्या हो भन्ने अझै खुलेको छैन ।