Breaking News

सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता

१४ कात्तिक, काठमाडौं । सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले जिल्ला अदालतमा सोमबार अभियोग पत्र दर्ता गराएको हो ।

सरकारी वकिलको कार्यालयका अनुसार लामिछानेविरुद्ध प्रहरीले अनुसन्धान सकेर मुलुकी अपराध संहिताको जबरजस्ती करणी गर्न नहुने कसूरमा सजायको मागदाबीसहित अनुसन्धान प्रतिवेदन ल्याएको थियो ।

संहिताको दफा २१९ को उपदफा ३ (घ) मा पीडित १६ वर्ष वा त्यसभन्दा बढी १८ वर्षभन्दा कम उमरको भए १० देखि १२ वर्षसम्म कैद सजायको व्यवस्था छ । त्यही अनुसार अधिकतम सजायको मागदाबी अभियोग पत्रमा गरिएको छ ।

लामिछानेविरुद्ध प्रहरी वृत्त, गौशालामा २१ भदौमा १७ वर्षकी किशोरीले जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएकी थिइन् । जाहेरी परेको दुईदिनपछि जिल्ला अदालत, काठमाडौंले उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।