सन् २०२० को अन्तिम सम्म कोरोना भाइरसको खोप तयार हुन्छ

ट्रम

२२ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को अन्तिम सम्ममा कोरोना भाइरस (कोभिड–१९) को खोप तयार हुने बताएका छन् । टेलिभिजन च्यानल फक्स न्युजलाई दिएको अन्तर्वार्तामा उनले यस वर्षको अन्तिममा यो खोप आउनेमा आफू विश्वस्त रहेको बताएका हुन् ।
विद्यालय खोल्ने विषयमा बोल्दै ट्रम्पले उमेर अलि बढी भएका शिक्षकलाई संक्रमण हुने जोखिम भए पनि विद्यालय खोल्नु जरुरी रहेको बताएका छन् ।
कोरोना भाइरसको विषयलाई लिएर ट्रम्पले अन्तर्वार्तामा विपक्षी डेमोक्रेटिक नेताहरुको आलोचना पनि गरेका थिए । कोरोना भाइरसको कारण अमेरिकाको अवस्था कमजोर भए विपक्षीलाई राजनीतिक हिसाबमा फाइदा पुग्ने ट्रम्पको आरोप छ । यसअघि उनले सुझाउँदै आएको कोरोना भाइरसको औषधि हाइड्रोक्सिक्लोरोक्विनको विषयमा भने यो औषधि निर्माण गर्ने कम्पनीसँग आफ्नो कम्पनीको शेयर नरहेको बताए । उनले यो औषधि प्रयोगमा कुनै नोक्सानी नरहेको र यसको प्रयोगले कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा पनि कमी आएको उनको दाबी छ ।
कोरोना भाइरस नियन्त्रणको लागि समयमा नै सही कदम नउठाएको आरोप खेपिरहेका ट्रम्पले आफ्नो गुप्तचरले सही सूचना नदिएको कारण समयमा नै प्रभावकारी कदम चाल्न नसकिएको बताए । उनका अनुसार जनवरी २३ मा गुप्तचर स्रोतले अमेरिकामा भाइरस आउन सक्ने भए पनि त्यतिबेला लकडाउन गर्नु जरुरी नरहेको जानकारी दिएको उल्लेख गरे । उनले त्यसभन्दा अगाडि नै चीनबाट आउने जहाज रोकेर भाइरस नियन्त्रणको लागि प्रयास शुरु गरेको भन्दै आफ्नो बचाउ गरे ।
स्रोत : बीबीसी