केही राजनीतिक दलले प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यतालिका फेरबदल गर्न निर्वाचन आयोगमा ‘दबाब’

२१ असोज, काठमाडौं । केही राजनीतिक दलले प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यतालिका फेरबदल गर्न निर्वाचन आयोगमा ‘दबाब’ दिन थालेका छन् ।

केही दिनदेखि परेको झरीका कारण कार्यक्षेत्रमा जान ढिलाई भएको भन्दै उनीहरुले कार्यतालिका परिमार्जन गर्न आग्रह गरेका हुन् ।

निर्वाचन आयोगले प्रत्यक्षतर्फ मनोनयन दर्ताका लागि २३ असोज का लागि मिति तोकेको छ । त्यो दिन कार्यालय समयमा इच्छुकहरुले मनोनयनपत्र दर्ता गर्न पाउँछन् ।

तर सत्ता गठबन्धनले सिट बाँडफाँट टुंग्याएको छैन भने एमाले पनि जनता समाजवादी, राप्रपा लगायतका दलसँग तालेमलको प्रयासमा छ । केही दलका नेताहरुले निर्वाचन तालिका फेरबदल गर्न आयोगका पदाधिकारीलाई आग्रह गर्न थालेका हुन् । कतिपय नेताहरुले आयोगका पदाधिकारी र मुख्य कर्मचारीलाई फोन गरेर ४र५ दिन मनोनयनको मिती सार्न आग्रह गरेको स्रोतले बतायो ।

झरीले सडक अवरुद्ध भएको र खराब मौसमका कारण हवाई सेवा पजि प्रभावित भएर केही पहाडी तथा हिमाली जिल्लामा जान कठिनाई भएको उनीहरको तर्क छ । ‘उहाँहरुले राजनीतिक विषय उच्चारण गर्नुभएको छैन । पानी परिरहेको छ, बाटोमा समस्या छ । जान सकिँदैन कि भनेर केही दिन विचार गर्नुपर्‍यो भनेर कूटनीतिक भाषामा कार्यतालिका फेरबदल गर्न अनुरोध गर्नुभएको छ’ निर्वाचन आयोग स्रोतले भन्यो, ‘काबूबाहिरको परिस्थितिमा बाहेक निर्वाचन कार्यतालिका फेरबदल हुने कुनै सम्भावना छैन, त्यही अनुसार तयारी गर्नुहोला भनेर सबैलाई मौखिक जवाफ दिने गरिएको छ ।’

निर्वाचन आयोगका प्रवक्ता शालिकराम पौडेलले निर्वाचन कार्यतालिका फेरबदल सम्भव नहुने बताउँछन् । उनले भने, ‘चाडपर्व, मौसम र सबै विषयलाई ध्यान दिएर आयोगले तालिका बनाएको हो । अब त्यसलाई संशोधन गर्ने विषय सम्भवै हुदैन ।’

एक निर्वाचन आयुक्तका अनुसार, अहिले देशव्यापी रुपमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने काम भइरहेको छ । घर पायक नपर्ने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु घरमा दशैं समेत नमानेर कार्यालय स्थापनामा जुटिसकेका छन् । दशैं विदामा बसेकाहरु समेत बिहीबार र शुक्रबारभरीमा कार्यक्षेत्र पुग्नेछन् । ‘निर्वाचन गराउने कर्मचारी कार्यस्थलमा पुग्ने, राजनीतिक दलका नेता कार्यकर्ताहरु पुग्न नसक्ने भन्ने हुन्छ र रु’ ती आयुक्तले भने, ‘कठिन परिस्थितिले मनोनयनका क्रममा आफू उपस्थित हुन नसके प्रतिनिधिमार्फत समेत मनोनयनपत्र दर्ता गर्न सकिन्छ ।’

आइतबार कार्यालय समयमा मनोनयन दर्ताको कार्यक्रम राखेको निर्वाचन आयोगले त्यही दिन बेलुकी प्रारम्भिक नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।