चन्द्रागिरिको ध्यान केन्द्रमा पहिरो जाँदा एकै परिवारका तीन जनाको पुरिएर मृत्यु

२१ असोज, काठमाडौं । लगातार आएको वर्षाका कारण काठमाडौंको चन्द्रागिरि ध्यान केन्द्रमा पहिरोमा पुरिंदा मृत्यु भएका तीनै जनाको शव संकलन गरी पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ ।

चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ मा पर्ने रेक्की ध्यान केन्द्र पुरिंदा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथिको मृत्यु भएको वडा अध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिएका छन् ।

अविरल वर्षापछि मध्यरातमा आएको पहिरोले ध्यान केन्द्र पुरिएको थियो । डोजरको सहायताले प्रहरीको टोली उद्धारमा खटिएको थियो ।