बलात्कारको आरोप लागेका क्रिकेट राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ

२० असोज, काठमाडौं । नेपाल क्रिकेट राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । उनी बिहान कतार एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै पक्राउ गरिएको हो ।

सन्दीपले केही दिनअघि स्वदेश फर्किन लागेको जानकारी सामाजिक सन्जालमार्फत् दिएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे नै ओर्लिने भने पनि खराब मौसमका कारण विमान अवतरण गर्न नसक्दा केहीबेर ढिलाइ भएको थियो । दोहाबाट काठमाडौं आएको उनी सवार कतार एयरवेजको जहाजले केहीबेर आकाशमा फन्को मारेको थियो ।

सन्दीप विदेशमै रहेको बेला गत भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् । आफूविरुद्ध उजुरी पर्दा उनी क्यारेबियन लिग खेल्न नेपाल बाहिर थिए ।