हरेकपटक निर्वाचन क्षेत्र फेर्न सक्ने भएर नै प्रचण्ड भएको हो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई केही दिनअघि गोरखाका नेता र जनप्रतिनिधिहरूले भेटेर गोरखा-२ बाट उम्मेदवार बन्न प्रस्ताव गरे।

चितवनभन्दा गोरखा धेरै सुरक्षित रहेको र जित्नलाई धेरै मिहिनेत पनि गर्न नपर्ने हुँदा देशभर समय दिन पाइने उनीहरूको तर्क थियो।

‘चितवनको अवस्था के छ थाहा छैन तर गोरखा आउने हो भने मनोनयनपत्र दर्ता गरे पुग्छ, हामी जिताएर पठाउँछौं,’ गोरखाका प्रतिनिधिहरूको भनाइ उद्धृत गर्दै प्रचण्डनिकट स्रोतले भन्यो, ‘अध्यक्ष रोल्पा, काठमाडौं, मधेस र चितवन जानुभयो, अब गोरखाको पालो। हिजो जनयुद्धमा रोल्पाले जस्तै गोरखाले पनि त्याग गरेको छ, अब उहाँलाई हामीले जिताउन पाउनुपर्छ।’

यसपालि पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र माओवादीको चुनाव चिह्न लिएर लड्न लागेका बाबुराम भट्टराईले समेत निर्वाचन नलड्ने भनेपछि प्रचण्ड गोरखा आउनैपर्ने उनीहरूको दबाब छ।

गोरखा-२ बाट २०७० को निर्वाचन जितेका माओवादी केन्द्रका सचिव हितराज पाण्डेले भने प्रचण्ड गोरखा आउने चर्चा चले पनि टुंगो नलागिसकेको बताए।

पाण्डेलाई माओवादी केन्द्रले समानुपातिक बन्द सूचीको पहिलो नम्बरमा राखेको छ। माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको नाम हटाएर उनको नाम राखेको हो।

माओवादीसँग पार्टी एकता गर्ने घोषणा गरिसकेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले गोरखा-२ बाट निर्वाचन नलड्ने घोषणा गर्ने क्रममा आफूभन्दा सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व गोरखाले पाउने उल्लेख गरेका छन्।

गोरखाबाट निर्वाचन लड्न आफूले प्रचण्डलाई सुझाव दिएको उनले सार्वजनिक रूपमै बताएका छन्।

प्रचण्डले पनि गोरखाबाट निर्वाचन लड्नुपर्ने प्रस्तावलाई गम्भीर रूपमा लिएको भन्दै आफू चितवनबाटै निर्वाचन लड्ने बताएका थिए। तर सोमबार भेट्न आएका चितवनका कांग्रेस र माओवादी नेता-कार्यकर्तासँग कुरा गर्दै प्रचण्डले आफूले जस्तो निर्णय पनि लिन सक्ने जवाफ दिएका थिए।

‘माडीदेखि नारायणघाटसम्मका गठबन्धन पार्टीका नेता, कार्यकर्ता र जनप्रतिनिधिहरू खुमलटार आएका थिए। हामीभित्र धेरै कुरा होलान् तर अध्यक्षलाई रेणुजीलाई भन्दा ठूलो अन्तरले जिताउँछौं भनेर कांग्रेसका नेता तथा कार्यकर्ताले भनेका छन्,’ माओवादीका एक नेताले भने, ‘गोरखाका साथीहरूले पनि उतै आउनुपर्‍यो भन्नुभएको छ। प्रचण्ड भनेको घुमिराख्ने हो भन्नेजस्तो भइसकेको छ। त्यो हिसाबले उहाँलाई गोरखा वा अन्तबाट लड्न अप्ठ्यारो छैन। चितवनबाट लड्न पनि अप्ठ्यारो छैन।’

अहिलेसम्म तीनवटा संसदीय निर्वाचन लडेका प्रचण्डले प्रत्येकपटक क्षेत्र फेरेका छन्।

काठमाडौं-१० बाट दोहोर्‍याएर लड्दा उनी पराजित भएका थिए। २०६४ मा रोल्पा-२ र काठमाडौं-१० बाट निर्वाचन जितेका प्रचण्डले २०७० को निर्वाचनमा काठमाडौं-१० बाट हारेका थिए भने सिरहा-५ बाट झिनो अन्तरले जितेका थिए।

२०७४ मा चितवन-३ बाट निर्वाचित प्रचण्डले यसपटक गोरखा रोजे भने उनी चार चुनावमा चार क्षेत्रबाट निर्वाचन लड्ने नेता हुनेछन्।

चितवनदेखि आफूलाई भेट्न आएका गठबन्धनका नेता-कार्यकर्तालाई प्रचण्डले प्रत्येक निर्वाचनमा फरक-फरक क्षेत्रबाट लडेकाले यसपटक अन्त जान पनि सक्ने भनेका थिए।

‘हरेकपटक निर्वाचन क्षेत्र फेर्न सक्ने भएर नै प्रचण्ड भएको हो,’ उनको भनाइ उद्धृत गर्दै एक माओवादी नेताले भने। यसबारे कुनै निर्णय भने नलिएको उनको भनाइ थियो।

सत्ता गठबन्धन तर्फबाट चितवनका जिल्ला नेताहरूले चितवन नछाड्न अपिल गर्नुले पनि प्रचण्डले गोरखालाई विकल्पका रूपमा सोचेको अनुमान गर्न सकिन्छ। उनलाई पार्टीभित्र पनि एउटा समूहले गोरखा रोज्न दबाब दिइरहेको छ।

‘एकातिर गोरखामा पार्टी नेताहरू मिलाउन गाह्रो छ। प्रचण्ड जानासाथ त्यो विवाद समाप्त हुन्छ। अर्कातिर गोरखामा उम्मेदवारी दिए प्रचण्डले अरू क्षेत्र डुल्न पाउनुहुन्छ,’ प्रचण्डनिकट स्रोतले भन्यो, ‘प्रचण्ड गोरखा जानासाथ हाम्रो समानुपातिक मत बढ्छ भने हामीले धेरै क्षेत्र जित्न पनि सक्छौं। चितवनमा जस्तो गोरखामा खट्नुपर्दैन।’

चितवन-३ बाट निर्वाचन लड्दा प्रचण्डलाई कांग्रेसको भर पर्नुपर्छ भने गोरखामा माओवादी एक्लै पनि बलियो छ। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसमेत मिलेपछि माओवादी केन्द्र अझै बलियो हुन्छ। कांग्रेसको समेत समर्थन रहँदा प्रचण्डलाई देश घुम्ने मौका मिल्ने माओवादीको मूल्यांकन छ।

अर्कातिर चितवनमा कांग्रेसको असन्तुष्ट पक्षले प्रचण्डविरूद्ध उम्मेदवारी दिने पक्कापक्की छ। त्यसले पनि प्रचण्ड स्वयंले गोरखालाई सुरक्षित ठानेका हुन सक्छन्।

सेतोपाटीबाट