टुकुचा खोला माथि बनाएका संरचनाहरू नभत्काउन उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको पहलमा टुकुचा खोला खोज्दै त्यसमाथि बनाएका संरचनाहरू भत्काउन थालेपछि त्यसमाथि परेको रिटमा उच्च अदालत पाटनले टुकुचा खोलालाई भूमिगत बनाएर त्यसमाथि बनाएका भौतिक संरचना नभत्काउन अन्तरिम आदेश गरेको छ । उच्च अदालत पाटनमा महानगरलाई विपक्षी बनाएर रिट निवेदन परेको थियो ।

सोही निवेदनमा आइतबार उच्च अदालत पाटनका न्यायाधीश दीपेन्द्रबहादुर बमको एकल इजलासले टुकुचामाथिका संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको हो । अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिनेबारे असोज ५ गते दुवै पक्षलाई अदालतले उपस्थित हुन भनेको छ ।

टुकुचालाई भूमिगत बनाइएको ठाउँमाथि बनेका संरचना नभत्काउन माग गर्दै भदौ ३१ गते पाटन उच्च अदालतमा प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स, जे–नेक्स इनभेस्टमेन्ट प्रालीसहितका तीन कम्पनीले संयुक्तरुपमा रिट दर्ता गरेका थिए ।