रातभर ओडारको बास दिनभर घरको काम

२१ वैशाख, जाजरकोट । भेरी नगरपालिका–१ पिपेका हरिबहादुर पुन आफ्नो गोठमा उत्पादन भएको मल बोक्न व्यस्त छन् । मकै रोप्नुअघि खेतबारीमा मल छर्ने गरिन्छ । उनी हप्ता दिनअघि नुवाकोटबाट पिपेस्थित घरमा पुगेका हुन् । घरमा आएलगत्तै पुनलाई वडा कार्यालयले क्वारेन्टाइनमा बस्नका लागि अनुरोध गरेको थियो । आग्रह बमोजिम उनीसँगै आएका सातजना घर नजिकै रहेको ज्यामिरे ओडारमा गएर बसेका
हुन् । अहिले उनीहरू दैनिक ज्यामिरे ओडारबाट आएर दिउँसो घरमा सामाजिक दुरी कायम गरी मल बोक्नेदेखि घरायसी काम गरिरहेका छन् ।
गाउँघरभन्दा नजिकै रहेको ओडारमा राति सुत्ने र दिनभरि घरको काम गरिरहेको वडाध्यक्ष दीपक रानाले जानकारी दिए । पिपे गाउँकै टार्जन पुनको सातजनाको टोली पनि बैतडीबाट काम गरेर ‘लकडाउन’कै समयमा घर फर्केलगत्तै पिपेस्थित अर्को ओडारमा बसिरहेको छ। वडा कार्यालयले व्यवस्था गरेअनुसार सो टोली आफूले रोजेरै ओडारमा बसिरहेको टार्जन पुनले जानकारी दिए । अहिले दिनमा सामाजिक दुरी कायम गर्दै गोठबाट खेतबारीमा मल बोक्ने राति भएपछि सातजनाको टोली ओडारमा गएर बस्ने गरेको स्थानीय पत्रकार सहदेव बस्नेतले जानकारी दिए ।
‘खेतबारीमा मल नबोक्ने हो भने बाली सप्रिँदैन, अर्को वर्ष के खाने ?’ टार्जनले भने, ‘हामी राजी, खुशीका साथ राति ओडारमा बस्छौँ । बिहान खाना खाएर नियमित सामाजिक दूरीका साथ घरमा गएर काम गछौँ ।’ चौध दिनसम्म ओडारमा खाना र सुत्ने व्यवस्थासहित बसेर घर फर्कने उनीहरूको भनाइ छ ।
अहिले जाजरकोटमा बाहिरी जिल्लाबाट फर्केकाहरू राति क्वारेन्टाइनमा बस्ने र दिनमा सामाजिक दुरी कायम गरी घरायसी काममा जुटेको पाइएको छ। कसैले घरमा गहुँ भित्र्याउने काममा जुटेको पाइएको छ भने कतै मकै रोप्ने काममा लागेको देखिन्छ। अहिले धानको बिउसमेत राख्ने समय भएकाले खेतमा समेत देख्न सकिन्छ ।
जिल्लामा धेरै मानिस भित्रिएका कारण क्वारेन्टाइन भरिभराउ भएसँगै ओडारमा समेत व्यवस्थापन गरिएको स्थानीय सरकारले बताएका छन् । जिल्लाभरि रहेका विद्यालय क्वारेन्टाइनका लागि मुख्य थलो भएका छन्। विद्यालयका डेस्क, बेन्च हटाएर सामाजिक दुरी कार्य गरी बाहिरबाट आएका मानिस राखिएको छ । भेरी नगरपालिकाले सदरमुकामस्थित त्रिभुवन माविलगायत विद्यालयका क्वारेन्टाइन बनाएको छ ।

नलगाड नगरपालिकाले त्रिभुवन मावि दल्लीलगायत अन्य ठाउँमा क्वारेन्टाइन निर्माण गरेर मानिस व्यवस्थापन गरेको छ । त्यस्तै, बारेकोट गाउँपालिकाले वीरेन्द्र ऐश्वर्य मावि लिम्सा, सरस्वती मावि सिलिङ्गीचौरदेखि अन्य सबै वडामा रहेका विद्यालयमा क्वारेन्टाइन निर्माण गरी एक सय ७६ जनालाई क्वारेन्टाइनमा राखेको छ ।
छेडागाड नगरपालिकाले पनि विद्यालयमा नै व्यवस्थापन गरेको बताएको छ। शिवालय गाउँपालिकाले पायक पर्ने विद्यालयमा नै व्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए ।
जुनिचाँदे गाउँपालिकाले सबै वडामा रहेका नजिकका विद्यालयमा क्वारेन्टाइन बनाएर काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिए । उनले खाद्यान्न, अन्य औषधि, डाक्टर जान र आउन सक्ने सजिलो ठाउँमा क्वारेन्टाइन निर्माण गरिएको बताए । जिल्लाका सबैभन्दा बढी बारेकोट गाउँपालिका र नलगाड नगरपालिका, भेरी नगरपालिकाका मानिस ‘लकडाउन’को समयमा बाहिरबाट बढी आएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लामा दुई हजारभन्दा बढी मानिस जिल्लामा भित्रिएका छन् । अझै देशका विभिन्न ठाउँमा अलपत्र परेका मानिस सांसद एवं मन्त्रीको पहलमा जिल्लामा भित्रिने क्रम जारी रहेको छ ।
जिल्लामा अहिलेसम्म ५०० द्रूत परीक्षणका लागि किट आए पनि क्वारेन्टाइनमा बसेका चार सय ५० जना मानिसको कोरोना भाइरस जाँच गरिएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको छ। विदेशबाट आएकालाई पहिलो प्राथमिकता बनाएर जाँच गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।
जिल्लामा अझै एक हजार ५०० किट आवश्यक रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्म्शिला बस्नेतले जानकारी दिए । हालसम्म कर्णाली प्रदेशका कुनै जिल्लामा पनि कोरोनाबाट संक्रमण भएको व्यक्ति फेला नपरेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
अनलाईन खबरबाट