सन्दीप लामिछानेलाई पक्राउ गर्न पुर्जी जारी : (क्यान) द्धारा सन्दीपलाई निलम्बन

१७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ । आज प्रहरीको आग्रहमा जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको हो।

क्रिक्रेटर सन्दीप विरुद्ध प्रहरी वृत गौशालामा जाहेरी दर्ता भएको छ । भदौ ५ मा राति ११ बजेर ५५ मिनेटमा सन्दीपले नाबालिगलाई एयरपोर्टस्थित होटल ‘काठमाडौं इन’मा लगेर पटक–पटक बलात्कार गरेको पीडितको आरोप छ । घटनाबारे प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको छ ।

यसैबीच कप्तान सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन गरेको छ । क्यानले आज बिहीबार एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरेको जनाएको हो ।

विज्ञप्तिमा क्यानले भनेको छ, ‘नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उपर जबर्जस्ती करणी कसुरमा मिति २०७९ भाद्र २३ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निज उपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णय अनुसार सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ ।’​