इन्स्टाग्रामलाई ४ सय ५ मिलियन युरो जरिवाना

एजेन्सी

आइरल्याण्डको प्रविधि नियामक निकायले इन्स्टाग्रामलाई ४ सय ५ मिलियन युरो जरिवाना तोकेको छ। बालबालिकाको गोपनियता उल्लंघन गरेको भन्दै आइरिस नियामक निकायले इन्स्टाग्रामलाई जरिवना तोकेको बीबीसीले जनाएको छ।

बालबालिकाको फोन नम्बर तथा इमेल दुरूपयोग भएको विषयमा उजुरी परेको थियो। इन्स्टाग्रामको स्वामित्व मेटाअन्तर्गत छ। मेटाले जरिवानाविरूद्ध अपिल गर्ने बताएको छ। यो सहित इन्स्टाग्रामलाई  आइरल्याण्डको डेटा सुरक्षा आयोग (डिपिसी)ले तेस्रो पटक जरिवाना तोकेको हो।

‘हामीले हाम्रो अन्तिम निर्णय शुक्रबार सुनाएका छौं।  निर्णयअनुसार ४ सय ५ मिलियन युरो जरिवाना तिर्नुपर्छ,’ डिपिसीले भनेको छ।

मेटाले भने पुरानो फिचरलाई लिएर जरिवाना तोकिएको बताएको छ। अहिले त्यसलाई परिमार्जन गरेर नयाँ फिचर थप गरिएको उसको भनाइ छ।

‘यो जरिवाना पुरानो फिचरलाई आधार मानेर गरिएको छ। बालबालिकाको डेटा सुरक्षालाई  ख्याल गर्दै हामीले नयाँ फिचर ल्याइसकेका छौं,’ मेटाले भनेको छ।

युरोपियन युनियनको डेटा सुरक्षा नियमावली विपरीतका गतिविधिमा डिपीसीले पहिलो पटक यति ठूलो जरिवाना तोकेको हो।