विभिन्न धार्मिक, सांस्कृतिक गीत, भजन तथा देउडालगायत नाच नेपालका अमूल्य लोक संस्कृति

प्रधानमन्त्री शेरबहादुर देउवा

गौरा पर्वका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिंदै, विभिन्न धार्मिक, सांस्कृतिक गीत, भजन तथा देउडालगायत नाच नेपालका अमूल्य लोक संस्कृति भएको उल्लेख गरेका छन् ।

गौरा पर्वको उपलक्ष्यमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गर्दै उनले ती लोक संस्कृतिले हाम्रो जीवनको सुख दुःखको कथा, इतिहास र परम्परा बोकेको बताए । ती लोक संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्नु सबैको राष्ट्रिय दायित्व भएको उनले उल्लेख गरेका छन् ।

गौरा पर्व विशेषगरी नेपालको कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा ठूलो उत्साह र उमङ्गका साथ मनाइन्छ । गौरा पर्व हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ ।

गौरा पर्वमा व्रतालु तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गइ गरिने शिव र गौरीको पूजाअर्चनामा पाँच प्रकारका अन्नको मिश्रणबाट बनेका बिरुडालाई अक्षता र प्रसादका रूपमा चढाउने तथा ग्रहण गर्ने गरिन्छ ।

धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी ९गौरा०को पूजाआजा गर्ने गरिन्छ । गौरा भित्र्याइसकेपछि बिसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, धमारी, ढुस्को आदि खेल खेलेर रमाइलो गर्ने चलन रहेको प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।