सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित उनको परिवारले नै सहकारी संस्थाबाट ठगी गरेर सम्पत्ति शुद्धीकरण गरेको फेला परेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धानले तामाङ, उनकी श्रीमती सिर्जना शाक्य र छोरीहरु प्रतिक्षा र प्रतिसाले नै सम्पत्ति शुद्धीकरण गरेको फेला पारेको हो ।
विभाग स्रोतका अनुसार तामाङले सहकारी ठगी गरेर ३ अर्ब ३१ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेका छन् । यस्तै, तामाङकी श्रीमती सिर्जना शाक्यले १ अर्ब ३ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको विभागको अनुसन्धानमा फेला परेको छ ।
विभाग स्रोतकाअनुसार छोरीहरु प्रतिक्षाले ६ करोड २२ लाख र प्रतिशाले १ करोड ८९ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको भेटिएको छ । यस्तै, सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठले २६ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको भेटिएको विभाग स्रोतले जानकारी दियो ।
तामाङ र उनको परिवारले सिभिल सहकारी संस्थामा बचतकर्ताले राखेको रकम आफूखुसी चलाएर सम्पत्ति शुद्धीकरणको प्रयास गरेका हुन् । विभागले उनीहरु विरुद्ध अनुसन्धान गरी मुद्दा दर्ता गर्ने तयारी गरिरहेको छ । विभागका अनुसार तामाङ परिवारविरुद्ध ४२७ पेजको ‘चार्जसिट’ तयार भएको छ ।